नौ निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको बोनस कति ?
वि.सं.२०७९ पुस १२ मंगलवार ११:१७
shares

काठमाडौं, १२ पुस । ९ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका १८ वटामध्ये ९ वटा कम्पनीले २०७८/०७९ को लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्नेमा शिखर, नेको, प्रिमियर, सगरमाथा, एनएलजी, सिद्धार्थ, नेपाल, आईएमई जनरल र यूनाइटेड इनस्योरेन्स कम्पनी रहेका छन् । लाभांश घोषणा गरेकामध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा शिखरले इन्स्योरेन्स रहेको छ । शिखरले आफ्ना शेयरधनीलाई १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये १६ प्रतिशत बोनस शेयर र ०.८४२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने जनाएको छ ।
त्यस्तै नेको इन्स्योरेन्स कम्पनीले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा शेयर बोनस १५ प्रतिशत र ०.७९ प्रतिशत नगद रहेको बोनस रहेको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले १३.१५७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिन दिने निर्णय गरेको हो ।
यता एनएलजी इन्स्योरेन्स कम्पनीले १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद गरी उक्त अनुपातमा लाभांश दिने भएको हो । नेपाल इन्स्योरेन्स कम्पनीले ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आइएमई जनरलले ६.८४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिनेछ । यूनाइटेड इन्स्योरेन्सले ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले ९.४७३७ प्रतिशतले लाभांश दिने भएको छ । जसमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद बोनस दिने निर्णय गरेको छ ।



















