GBIME

१३ हजारले पाए कोरोना बीमा दाबी भुक्तानी, अझै १२ अर्ब रुपैयाँ अपुग

1.16K
shares

काठमाडौं, ४ माघ । कोरोना बीमा दाबी गरेकामध्ये पहिलो चरणमा १३ हजार जनाले भुक्तानी पाएका छन् । नेपाली बीमक संघका अनुसार सरकारले दिएको १ अर्ब र पुनरबीमा कम्पनी र बीमा प्राधिकरणको ८१ करोड गरी १ अर्ब ८१ करोड रुपैयाँ १३ हजार १९९ जना बिमितलाई भुक्तानी गरिएको हो ।

१ लाख ६५ हजार ५९ जना बिमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको भुक्तानी दबी परेको छ । पहिलो चरणमा १३ हजार १९९ जनालाई १ अर्ब ८१ करोड भुक्तानी गरिएको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अर्थमन्त्रालयबाट भुक्तानी भएको र प्राधिकरण तथा पुनर्बीमा कम्पनीले व्यहोर्ने रकम भुक्तानी गरिसकिएको छ ।

पहिलो चरणमा व्यक्तिगत र पारिवारिक दाबी भुक्तानी गरिएको अध्यक्ष क्षेत्रीको भनाइ छ । सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानिएको थियो । त्यस्तै १२ प्रतिशत नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीतबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकमक भुक्तानी गरेर कारोना बीमा दाबी भुक्तानी गरिएको थियो ।

अहिले भुक्तानिका लागि प्राप्त भएको रकम सकिएको र नयाँ अर्थमन्त्रीसँगको भेटका क्रममा सामान्य कुरा मात्रै भएको उनको भनाइ छ । अर्थमन्त्रालयसँग कुरा गरेर छिट्टै अरुलाई पनि भुक्तानी दाबी गरिने अध्यक्ष क्षेत्रीको भनाइ छ ।

कोरोना बीमा गर्नेहरु १७ लाख ५८ हजार ३४३ जना रहेका थिए । उनीहरुमध्ये १ लाख ६५ हजार ५९ जना बीमितले दाबी भुक्तानी माग गरेका थिए । कोरोना बीमा दाबी गरेकाहरुका लागि अझै करिब १२ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष क्षेत्रीले जानकारी दिए । पहिलो चरणमा निजामति कर्मचारीलाई कोरोना बीमा दाबी भुक्तानी नगरिएको उनले बताए ।