Dhulikhel Eco Banner new

तातोपानी नाका वैशाख १८ गतेदेखि नियमित सञ्चालनमा, मानिसको ओहोरदोहोर भने अझै नखुल्ने

5.42K
shares

काठमाडौं, ५ चैत । चीनसंगको व्यापार तथा आयात निर्यातमा काठमाडौंका लागि लाइफलाइन मानिएको तातोपानी नाकाबाट आगामी वैशाख १८ गतेदेखि निर्यात पनि खुल्ने भएको छ । सोमबार नेपाल चीन सीमा मितेरी पुलमा भएको नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा भएको छलफलमा नाकाबाट निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको छ ।

२०७२ सालमा गएको महाविनाशकारी भूकम्पछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ हुँदै चीन जोड्ने उत्तरी नाका लगभग ठप्प थियो । यसबीच सञ्चालनमा आउँदा पनि पूर्ण क्षमतामा सञ्चालनमा नआएको यो नाकाबाट अब नेपालले निर्यात गर्न पाउने भएको छ । तर लामो समयपछि निर्यात मात्र खुल्दा स्थानीयवासी भने निराश देखिएका छन् । नाकालाई पूर्णरुपमा सञ्चालनमा ल्याएर मानिसहरुको आवातजावत र व्यापारिक ओहोरदोहार पनि खोलेर नाकालाई पूर्व अवस्थामा ल्याउनु पर्ने माग स्थानीयको छ ।

गत चैत १५ गते तिब्बतको ल्हासामा बसेको बैठकमा नेपालसंग जोडिएका सीमा नाका खोल्न चीन सरकार सकारात्मक देखिएको थियो । त्यही बैठकको निरन्तरताका लागि सोमबार बसेको बैठकमा नेपाल र चीनका सरकारी अधिकारीहरुबीच निर्यात खुलाउने सहमति भएको हो ।

यस अघि केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएकोले तातोपानी नाका पनि पूर्णरुपमा सञ्चालनमा ल्याउनु पर्ने स्थानीयको माग छ । यस विषयमा जानकारी लिन खोज्दा नेपाल चीनबीचको सरकारी अधिकारीहरुको छलफलमा सहभागी भएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने विरामी भएकाले बोल्न नसक्ने भन्दै सम्पर्कमा आउन चाहेनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले भने वैशाख १८ गतेदेखि नाका पूर्णरुपमा खोल्ने सहमति भएको बताए । तर उनले आफुलाई पूर्ण जानकारी नभएको उनको भनाइ थियो । यस्तै सिन्धुपाल्चोक जिल्ला प्रहरी उपरीक्षक बालनरसिंह राणाले वैशाख १८ गतेदेखि नाका पूर्णरुपमा सञ्चालन आउने गरी सहमति भएको जानकारी दिए । उनले कोभिड १९ का कारण अझै पनि केही सतर्कता कायम राखिएको भन्दै दुई देशका अधिकारीबीच अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर सुरक्षा गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता विषयमा पनि छलफल भएको बताए ।

बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारी न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेपछि छलफललाई विषय प्रवेश गराइएको थियो ।