GBIME

‘बैंकलाई खुला छाड्दा समस्या भयो, व्यवसायीहरु हात खडा गरेर पलायन हुदैछन्’

7.96K
shares

काठमाडौं, २७ असोज । विश्व मुद्रा कोषले पनि विश्वको अर्थतन्त्र निकै खुम्चिने आंकलन गरेको छ । यो अवस्थाबाट नेपालको अर्थतन्त्र पनि अछुतो रहन सक्दैनन् । नेपालको अर्थतन्त्र पछिल्लो समय श्रीलंकाको अवस्थामा पुग्छ भन्ने आवाजहरु पनि केही समय अघि देखि सुनिदै आएको छ ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र कमजोर बनिरहेको छ । खासगरी अहिले बैंकको ब्याजदरका कारण व्यवसायीहरु समस्यामा छन् । यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने विषयमा नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापासँग केटिएम भ्वाइसकर्मी महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :

अहिले उद्योग व्यवसायको अवस्था कस्तो छ ?

अहिले व्यवसायीको अवस्था निकै दयनिय रहेको छ । व्यवसायीहरु दुराअवस्थामा रहेका छन् । निकै लामो समय भयो यस्तो भएको सुधार हुने आसामा बस्दा बस्दै समय निकै वित्ति सकेको छ । लामो प्रतिक्षा पछि पनि सुधार हुने कुनै छाँटकाँटै देखिएको छैन् ।

यहि अवस्था कायम रहेको खण्डमा व्यवसायीहरु पलायन हुनु पर्ने अवस्था सिर्जना हुन धेरै समय लाग्दैन् । बैंकको लगानी पनि छैन । व्यक्तिहरुको क्रयशक्ति समेत घटेको अवस्था छ । दशैँको समयमा पनि व्यवसाय २५ प्रतिशत पनि हुन सकेको छैन् । यो इतिहासकै खराब अवस्था हो । यो अवस्थामा व्यवसाय गर्नु भनेको निकै चुनौतिपूण काम हो ।

बैंकको ब्याजदर बढेको छ, ऋण पनि सहजै पाउन नसक्ने अवस्था बनेको छ । यसको असर निजी क्षेत्रलाई कत्तिको परेको छ ?

ब्याजदर बढ्दा सबैभन्दा बढी मर्का पर्ने भनेको निजी क्षेत्रलाई नै हो । अनौपचारिक बाहेक कुनै त्यस्तो व्यवसाय छैन जसले बैंकबाट ऋण नलिएको । अहिले व्यवसायीहरुले १५–१६ प्रतिशत ब्याज लिएर व्यवसाय गर्न सक्ने अवस्था छैन् । व्यवसायीहरुले हात खडा गरेर पलायन हुनु पर्ने अवस्था देखिएको छ ।

अहिलेको अवस्था आउनुमा नेपाल राष्ट्र बैंकको नीति मुख्य कारण हो । अर्थमन्त्रालय र राष्ट्र बैंकको द्धन्द्धको मारमा व्यवसायीहरु परेका छन् । यस्तो अवस्थामा व्यवसाय गर्नका लागि कुनै व्यवसायीहरु तयार होलान जस्तो मलाई लाग्दैनन् ।

तपाईको विचारमा बैंकको ब्याजदरका विषयमा सरकारले वा राष्ट्र बैंकले केही कदम चाल्नु पर्छ कि ?

बैंकहरुलाई खुल्ला छोड्दा समस्या भयो । असोजभन्दा अघि बैंकले लिएको नीति ठिक थियो । असोजमा बढेको ब्याजदरले थप समस्या भयो । जसका कारण व्यवसायीलाई थप मार परेको हो ।

अर्थमन्त्रीले पनि ब्याजदर नियतन्त्रणका लागि पहल गर्ने बताए पनि अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन् । खुल्ला छोडिएका कारण पुनः नियन्त्रण गर्न सक्ने अवस्था होला जस्तो मलाइ लाग्दैन् । बढेको ब्याजदरमा ऋण लिएर व्यवसायीले काम गर्न सक्ने अवस्था समेत छैन् ।

निजी क्षेत्रका समस्याहरु भनेको बैंकको ब्याजदरबाहेक अरु के–के छन् ?

निजी क्षेत्रका लागि बजार चलायमान हुनु पर्ने हो तर त्यसो हुन नसकेको छैन् । बजार चलायमान नहुनु नै सबैभन्दा ठूलो समस्या हो । व्यवसायीका लागि योभन्दा ठूलो समस्या र पिडा अरु के हुन सक्छ र ।

निजी क्षेत्रले स्वतः रुपमा काम गर्न पाउनु पर्ने हो । तर पछिल्लो समय यावत समस्याले गर्दा त्यसो हुन सकेको छैन् । ब्याजदर बढ्नु, आमा उपभोक्ताको क्रयशक्ति घट्नु तथा पैसा एकै ठाउँमा डम भएर बस्नु पनि समस्या हो । यो समस्या समाधान नभएसम्मका लागि व्यवसाय चलायमान हुने सम्भाना कम छ ।

बाह्य कारणलाई समस्याका रुपमा देखाइएको छ । बाह्य समस्या पनि होला तर आन्तरिक परिस्थितिलाई मात्रै नियन्त्रण गर्न सकेको भए अहिलेको अवस्था आउँदैन थियो होला । तर बाहिरको कारण देखाएर आन्तरिक विषयमा ध्यान नदिँदा पनि अहिलेको अवस्था आयो ।

अहिले मुलुक चुनावमा होमिएको छ, चुनावका कारण निजी क्षेत्रलाई कस्तो असर गर्ला ?

स्थानीय चुनाव भर्खरै सकिएको छ । त्यतिबेला पनि घरमा रहेको पैसा बैंकमा आउँछ र चलायमान हुन्छ भन्ने आँकलन गरिएको थियो । त्यसको लगतै दशैँ आयो त्यो समयमा पनि पैसा बाहिर आउने अनुमान गरिएको थियो । तर त्यसो हुन सकेन । न स्थानीय चुनावमा पैसा निस्कियो न त दशैँमा नै । आम चुनावले पनि अर्थतन्त्रलाई चलायमान बनाउनमा मद्दत गर्छ भन्ने मलाई लाग्दैन् ।

आशा गर्ने हो तर सो अनुसार काम हुन्छ भन्नेमा धेरै व्यवसायीहरु नै ढुक्क छैनन् । आगामी चुनावमा पनि बैंकबाट रकम झिक्ने क्रम बढी होला कि भन्ने पनि छ । जब रकम एक ठाउँमा जम्मा हुन्छ यसले अर्थतन्त्रमा नकारात्मक असर गर्छ ।

चुनाव एउटा प्रक्रिया हो । यसले सबै क्षेत्रलाई प्रभाव पार्छ । सबैलाई चुनाव लाग्छ व्यवसायीहरुलाई पनि यो चुनावले छोएको छ । नेतृत्व छनोटका लागि सबै सहभागि हुन्छन ।

एफएनसीसीआईको चुनावको विषयमा पनि थोरै कुरा गरौं, आगामी नेतृत्व कस्तो चाहानु भएको छ ?

अध्यक्ष को बन्ने भन्ने विषय त पहिले नै थाहा भइसकेकको छ । भोलिको नेतृत्व गर्ने व्यक्तिहरु यो चुनावबाट छनोट हुने हो । आगामी नेतृत्व दृढ र आटीलो आउनु पर्छ । व्यक्तिगत स्वार्थ भन्दा पनि व्यवसायीका लागि आवाज उठाने नेतृत्व आउनु पर्छ ।

बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले अब हुने निर्वाचनमा सोही पदकका लागि बढी प्रतिस्पर्धा हुने देखिन्छ । निडर र समन्वय गर्न सक्ने नेतृत्वको खाँचो छ । सरकारले गरेको राम्रो कामको प्रसंसा गर्नेभन्दा पनि डिल गर्न सक्ने नेतृत्वको आवश्यकता देखिन्छ ।