रेमिट्यान्सलाई लगानीमा रुपान्तरण गर्नु पर्छ : मन्त्री कुँवर
वि.सं.२०७९ साउन ५ बिहीवार १६:०२
shares

काठमाडौं, ५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले रेमिट्यान्सको सहि सदुपयोग हुन नसकेको बताएका छन् । गैर आवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।
विदेशमा गएर दुख गरि कमाएको रकमलाई उत्पादनमा जोड्न सक्नु पर्ने उनको भनाइ थियो । रेमिट्यान्सको लगानी विश्लेषण गर्नु पर्ने आवश्यकता रहेको बताए । ‘आफ्नो देशमा एक लोटा पानी समेत नसार्ने व्यक्तिहरुले विदेशमा गएर पसिना बताएर पठाएको पैसालाई सदुपयोग गर्नु पर्छ, तब मात्रै देशको विकास हुन्छ,’ उनले भने । जबसम्म पुँजीलाई देश निर्माणमा लगाउन सकिदैन तबसम्म विकास सम्भव नभएको उनको धारणा थियो ।
‘कुल ग्राहस्थ उत्पादनमा ठूलो अंश रेमिट्यान्सको छ, उक्त पुँजी फजुल खर्चमा सकिने गरेको छ, यसको नियन्त्रणका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ,’ मन्त्री कुँवरले भने ।
छिमेकी मुलुक भारतले गैर आवासीहरुबाट लिएको पुँजीले कसरी विकास गर्न सकिन्छ भन्ने दृष्टान्त देखाएको उदाहरणबाट दिँदै मन्त्री कुवरले भने गैर आवासीय नेपालीहरुको पुँजी पनि हाम्रै हो, भनेर राज्यले उदार भएर हातहरु फैलाउनु पर्छ ।
अझैपनि हुण्डीबाट रेमिट्यान्स भित्रिरहेको भन्दै उनले श्रम गन्तब्य मुलुकमा नेपाली बैंकको शाखा स्थापना गर्न समेमा त्यो समस्या समाधान हुने र सुरक्षित रुपमा रकम नेपाल भित्रिने बताए । मन्त्री कुँवरले पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न बेतिथि, विसंङ्गति, सास्ती, अप्ठेरो अरिस्थिति आएकाले त्यो विषय पेचिलो बन्दै गएको पनि बताए ।
श्रम गन्तब्यलाई कसरी सजिलो र सहज बनाउने तथा श्रमिकहरुको सुरक्षालाई राज्यले महत्वका साथ लिनुपर्ने उनको भनाइ छ । श्रम गन्तब्य देशका कानुनले नेपालका श्रमिकहरुको बारेमा बोलेको छ कि छैन अध्ययन गरेर मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने उनले बताए । श्रमिको पक्षमा कानुन बनाउन सकेमा मात्र श्रम गन्तब्य सुरक्षित बन्न सक्ने उनको भनाई छ ।



















