GBIME

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की

1.11K
shares

काठमाडौं, ७ कात्तिक । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढ्नेमा जोड दिए ।

नेपाली कांग्रेससहित लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट प्रतिनीधिसभा सुनसरी–४ का उमेदवारसमेत रहेका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनता सामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको जानकारी दिए । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बताउँदै अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्पपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे । यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपरलेस प्रविधिकार्य आफनै पहलमा हुन लागेको जानकारी दिएका छन् ।