GBIME

एमडिएमएस तत्काल कार्यान्वयनमा नआउने, दर्ताबाहिर ३६ लाख फोन

1.27K
shares

काठमाडौं, १५ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ ।

प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्ने भएको हो ।

वैदेशिक रोजगारीमा रहेका नागरिक र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै प्राधिकरणले पनि उक्त निर्णय तत्कालका लागि स्थगत भएको र विदेशबाट आउनेले थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था कायमै रहेको जनाएको छ ।

प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा कूल तीन खर्ब ७८ अर्ब चार करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । सो अवधिमा एक लाख ९५ हजार एक सय ९६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । कूल ग्रार्हस्थ्य उत्पादनको तुलनामा सबैभन्दा धेरै विप्रेषण भित्र्याउने देशको सूचीमा नेपाल शीर्ष स्थानमा छ । यस्तो अवस्थामा सरकारी निकायले बिना अध्ययन सानो निर्णय गर्दा पनि त्यसबाट ठूलो प्रभाव पर्ने देखिन्छ ।

विदेशबाट ल्याइएको मोबाइल फोन दर्ताका लागि पछिल्ला दिनमा प्राधिकरणमा भीड नै लाग्ने गरेकोे थियो । अनलाइन तथा व्यक्ति स्वयम् उपस्थित भएर एमडिएमएस लागू गर्न सकिने व्यवस्था पछि दर्ता गर्नेको भीड लाग्ने गरेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणले मिति नै तोकेर (पुस १५ गतेदेखि) अवैध फोन नेपालमा नचल्ने उद्घोष गरेपछि पछिल्लो समय दर्ताका लागि आवेदन दिनेको सङ्ख्यामा वृद्धि हुन थालेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । प्राधिकरणको तथ्याङ्कअनुसार गत असोज १ देखि पुस १२ गतेसम्म आवेदन आएकामध्ये ३६ लाख मोबाइल फोन दर्ता हुन सकेका छैनन् ।

प्राधिकरणले मागेको आवश्यक कागजात बुझाउन नसक्दा ३६ लाखभन्दा बढी मोबाइल फोन एमडिएमएस दर्ता हुन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार गत असोज १ गतेदेखि हालसम्म १४ हजार नौ सय २८ थान मोबाइल सेट एमडिएसमएसमा दर्ता भएका छन् ।