Dhulikhel Eco Banner new

उदयपुरमा सवारी चेकजाँचमा कडाई

18.72K
shares

उदयपुर, पुष २३ । उदयपुरमा सवारीसाधनको चेकजाँचमा कडाई गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र यातायात व्यवस्था सेवा कार्यलय गाईघाटको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँचमा कडाई गरेको हो ।

जिल्लाको पश्चीमी क्षेत्र कटारीमा सवारीहरुलाई छड्के अनुगमन समेत गरिएको हो । अनुगमन गर्ने क्रममा ५६ सवारी कार्वाहीमा परेको यातायात व्यवस्था सेवा कार्यलय गाईघाटका अधिकृत सुबास अधिकारीले बताए । ट्राफिक नियम तथा सवारी चलाउन चाहिने आवश्यक मापदण्डको आधारमा ५६ सवारी कार्वाहीमा परेको अधिकृत अधिकारीको भनाइ छ । यातायात व्यवस्था सेवाको नियम र ऐन अनुसार महिनाको एक पटक देखि दुई पटक सम्म नियमित सवारी अनुगमन गर्नु पर्ने नियम रहेको छ ।

उक्त अनुगमनमा यातायात व्यवस्थाको मापदण्ड अनुसार सवारीहरु ठिक छ या छैन्, सवारीको अवस्था, मापासे, कागजात, तिव्रगती जस्ता कुराहरुमा चालकहरुले नियम पालना गरे वा नगरेको बारे अनुगमन गरिएको थियो । गाईघाट कार्यालयले यो भन्दा पहिले पनि हरेक महिनाहरुमा ठाउँ विषेश रुपमा चेक जाँच गर्दै आइरहेको छ । अनुगमनमा कारबाहीसँगै नियमको बारेमा समेत बुझाइने गरेको यातायात सेवा कार्यालय गाईघाटका प्रमुख श्याम लिम्वुले बताए ।

अनुगमनको क्रममा ५६ ओटा सवारीलाई कारबाही गर्दा ४८ हजार राजश्व संकलन भएको छ । उदयपुर ट्राफिक प्रहरी इञ्चार्ज लोक दियालीका अनुसार अनुगमनका क्रममा ५६ ओटा सवारीहरुलाई ओभर लोड, मापासे, कागजपत्र नबोक्ने, सवारी अवस्था जस्ता कुरामा कारबाही गरिएको छ । दियालीका अनुसार सबैभन्दा बढी २१ ओटा मोटरसाईकल, १४ ओटा अटो, १० ओटा कारजिप, ४ ओटा टिपर, २ ओटा ट्याक्टर र १ ओटा ट्याङ्कर कारबाहीमा परेका छन् ।

उनिहरुलाई कारबाहीसँगै सम्झाई बुझाई समेत गरी आउने समयमा सुरक्षित यात्राको लागि आह्वान समेत गरिएको थियो । गाईघाट यातायात कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाट, ईलाका प्रहरी कार्यालय, ट्राफिक पोस्ट कटारी र संञ्चारकर्मीहरु समेतको उपस्थितिमा अनुगमन गरिएको थियो ।