Dhulikhel Eco Banner new

फोहरमैला व्यवस्थापनमा सक्रिय वातावरण महिला समूह

9.3K
shares

काठमाडौं, ४ फागुन । काठमाडौं उपत्यकामा फोहरमैला व्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेको छ । काठमाडौंको फोहोर व्यवस्थापन हुदै आएको नुवाकोटका स्थानीयले सामान्य विरोध गरेको खण्डमा पनि उपत्यकाको फोहोर नउठेर सहर दुर्गन्धित बन्ने गरेको छ । उपत्यकाका स्थानीय तहका लागि पनि यो निकै चुनौती बनिरहेको छ ।

फोहर मैलाको दिर्घकालिन व्यस्थापन हुन नसक्दा ककनी गाउँपालिकामा विरोध हुँदा उपत्यकामा फोहोरको पहाड नै बन्ने गरेको छ । जसबाट काठमाडौंको वातावरण निकै प्रदूषित बन्ने गरेको छ । नागरिकको प्रत्यक्ष स्वास्थ्यमा असर पार्ने यो विषयमा यहाँका स्थानीय सरकारले काम गर्ने योजना ल्याउने गरे पनि कार्यान्वयन भने निकै फितलो हुने गरेको छ । कुरुप र दुर्गन्ध उपत्यकाको पहिचान बनिसकेको छ ।

यदि कुनै पनि काम गर्ने इच्छा शक्ति भयो भने त्यो काम गर्न असम्भव भने हुँदैन् । फोहर मैलाको व्यवस्थापन गर्नका लागि पनि इच्छा शक्ति भएको खण्डमा व्यवस्थाप गर्नै नसकिने भन्ने होइन । फोहोर मैला व्यवस्थापनका लागि सरकारको मुख ताक्नु पर्छ भन्ने पनि होइन । आम नागरिकले आफूले पनि फोहोर व्यवस्थापन गर्न सक्छन् । यसैको उदाहरण बनेको छ ललितपुरको कुपण्डोलमा रहेको महिला बातावरण समूह । यो समूहले २०४६ सालमा स्थापना भएको समूह हो र यसले फोहोर व्यवस्थापन गर्ने काम गर्दै आएको छ ।

गृहिणी महिलाहरु जम्मा भएर बनाएको यो संस्थाले अहिले ललितपुर महानगरपालिकाका विभिन्न स्थानसँगै काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा पनि काम गरिरहेको छ । आफ्नो घरबाट निस्केको फोहरलाई व्यवस्थापन गर्ने गरी बनेको समूहले अहिले ललितपुर महानगरपालिमा वडा नम्बर १,२,३,१० र ११ तथा कागेश्वरी मनहरा नगरपालिकाका १ देखि ७ नम्बर वडाको फोहोर संकलन गरेर व्यवस्थापन गर्दै आएको छ । महिला समूहमा अहिले ५० जना संलग्न रहेका छन् ।

यो समूहले संकलन गरेको फोहोरलाई कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्दै आएको छ । कुहिने फोहोरबाट उनीहरुले मल बनाउने गरेका छन् । नकुहिने फोहरलाई बनचरे डाडामा रहेको ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने गरेको संस्थाकी सचिव मूना न्यौपानेले जानकारी दिइन ।

यो समूहले ५ हजार घरबाट फोहर संकलन गर्दै आएका छन् । फोहर उठाए वापत उनीहरुले प्रति भान्छा २०० देखि ४०० रुपैयाँसम्म मासिक शुल्क लिने गरेका छन् । महिलाहरु र सफाइकर्मीहरु गरेर ५० कर्मचारी यो संस्थामा रहेका छन् । फोहोर संकलनका लागि समूहले ३ वटा टिपर, १ ट्राक्टर र ९ वटा रिक्साको व्यवस्था गरेको छ ।

समूहरले फोहोरमैला व्यवस्थापन गर्नेसँगै समय–समयमा महिलाहरुको लागि शिप विकास कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । आफ्नो घरको फोहरबाट, प्राङ्गगारिक मल, गड्यौले मल, प्लाष्टिकबाट विभिन्न सामानहरु, कागजबाट बिभिन्न सामानहरु बनाउने काम पनि गरिरहेको सचिव न्यौपानेले बताइन् ।

पुनः प्रयोगको अवधारणालाई सार्थक बनाउन ढुङ्गाबाट रोडा रोडाबाट चिप्स निकालिसकेपछि प्रयोग नहुने ढुङ्गाको धुलोबाट ईटा (इन्टरलक उत्पादन) कार्य पनि भइरहेको छ । जैविक तरकारी खेती लगायत गाई पालन गरेर दुध पनि बिक्री वितरण गर्दै आएका छन् ।

स्थापना कालदेखि नै जनचेता अभिवृद्धि तथा विभिन्न कार्यक्रम गर्दै आएको यो संस्थाले दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार पाइसकेको छ । ३० वर्षको इतिहास भएको यो समूहले गर्न चाहेको खण्डमा र इच्छा शक्ति भयो भने परिणाम निकाल्ने गरि काम गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । यो समूह जस्तै अन्यले पनि आफ्नो वरपरको फोहोरलाई व्यवस्थापन गर्न सकेको खण्डमा राज्यलाई पनि सहयोग पुग्ने समूहकी अध्यक्ष अन्जु शाह सिंहको भनाइ छ । राज्यको मुख ताक्नेभन्दा पनि आफैले सुरु गर्नु पर्छ भन्ने उद्देश्यले अघि बढेकाले अहिलेसम्म राम्रै भइरहेको अध्यक्ष सिंहको भनाइ छ ।