Dhulikhel Eco Banner new

बैंक खाता भाडामा लिएर नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा : ९ चिनियाँ सहित १९ जना पक्राउ

6.46K
shares

काठमाडौं, १५ चैत । अनलाइन व्यापारको नाममा ठगी गर्ने ९ चिनियाँ र १० नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले बुधबार पत्रकार सम्मेलन गर्दै नेपालमा बसेर नेपालीलाई नै ठग्ने चिनियाँ नेतृत्वको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

अनलाइन व्यापारमा लगानी गरेबापत ३० प्रतिशत कमिसन पाउने लोभमा गिरोहले एकै व्यक्तिलाई ४८ लाख रूपैयाँसम्म ठगेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिएका छन् ।

ठगिमा ५ महिला र ५ पुरुष गरी १० नेपाली समेत सामेल छन् । केही समयअघि एक व्यक्तिले अनलाइन व्यापार ४८ लाख रूपैयाँ ठगीमा परेको भएको भन्दै उजुरी दिएपछि घटनाको अनुसन्धान थालिएको प्रमुख केसीले जानकारी दिए ।

उनले भने ‘ अनलाइन व्यापारको नाममा सामान खरिद गर्न लगाएर सामान बिक्री भएजस्तो गरेर सुरूसुरूमा कमिसन पठाउने रहेछन् । तर, लगानी बढ्दै जाँदा कमिसन बन्द भएपछि पीडित आफू ठगिएको थाहा पाउने अवस्था देखियो ।’

उजुरी गर्ने पीडितले पनि ५० हजार रूपैयाँ लगानी गरी कमिसन खुरुखुरु पाएपछि ४८ लाख रूपैयाँ लगानी भइसकेको पत्तै नपाएको पीडितको भनाई उदृत गर्दै केसीले भने । प्रहरीले ती पीडितले रकम जम्मा गरेका चारवटा बैंक खाताबाट अनुसन्धान सुरु गरेपछि गिरोह पत्ता लगाएको हो । ती चारवटा खातामा मात्रै डेढ महिनाको अन्तरमा एक करोड ६४ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ९ जना चिनियाँले काठमाडौंको विभिन्न तीन ठाउँमा कार्यालय खोलेर नेपालीलाई सम्पर्क गरेर खाता खोल्न लगाएको र खाता खोले मासिक १० हजार रूपैयाँ पाइने प्रलोभनमा परेर अनलाईन बैंकिङको युजरनेम र पासवर्डसमेत गिरोहलाई बुझाएको पाइएको जनाएको छ ।