Dhulikhel Eco Banner new

बिस्का जात्रामा युवाको लोभ लाग्दो आकर्षण

5.11K
shares

काठमाडौं, २९ चैत । नयाँ वर्षको आगमनसँगै भक्तपुरका नेवार समुदायले बिस्का जात्रा धुमधामसँग मनाई रहेका छन् । बिशेषगरी, जात्राप्रति युवाको आकर्षण लोभ लाग्दो छ । गत २७ चैतबाट सुरु भएको जात्रामा सयौं स्थानीय युवा सहभागि भएका छन् । जात्रामा भैरबको मुर्ती स्थापना गरि रथ तन्ने परम्परा छ । रथ तान्न सयौं स्थानीय युवा परिचालित भएका छन् । भक्तपुर नगरको प्रसिद्ध पाँंचतले मन्दिर, टौमढी लगायतका क्षेत्रमा जात्रालुको भीडले भरिएका छन् । रथ तानिने स्थानीय सडक तथा गल्ली अबिर तथा केशर लगायतका रंगले रंगिचंगि देखिएका छन् ।

जात्रा अवलोकन गर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे लगायतका जिल्लाबाट सयौं व्यक्तिहरु सहभागि भएका छन् । जात्रा स्थानीय नेवारका लागि सबैभन्दा ठुलो पर्व हो । जात्रा मनाउन पाउँदा स्थानीय प्रफुल्लित हुने गरेका छन् ।

जात्रामा सहभागि स्थानीय न्हुच्छेराम भेलेले भने,‘जात्राको महत्व झन बढेको छ । सहभागि हुनेहरुको संख्या ह्वात्तै बढेको छ । युवामा जात्रा मनाउने जोश अझ बढेको देखिन्छ । यस्ता कार्यले स्थानीयलाई अति नै खुसी तुल्याएको छ ।’

पछिल्ला वर्ष बिस्का जात्रा नेवार समुदायमा मात्रै सिमित छैन । यो अन्य मुदायमा पनि फैलिएको छ । बिशेषगरी युवा पुस्ताबीच बिस्का जात्राको रौनक बढ्दै गएको देखिएको छ । जात्रामा सहभागि हुने मात्र नभई रथ तान्ने कार्यमा समेत बिभिन्न समुदायको युवा सहभागि हुने गरेका छन् ।

५ वैशाखसम्म चल्ने जात्रालाई भब्य तुल्याउन गुठी संस्थानले प्रत्येक वर्ष बजेट बिनियोजन गर्दै आएको छ । यस पटकको जात्राका लागि पनि संस्थानले २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । संस्थानका अध्यक्ष खिमा ओलीले प्रत्येक वर्ष झै यस पटक पनि बिस्का जात्रालाई भब्य बनाउन २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको बताईन् । ‘भक्तपुरमा बिस्का जात्राको आफ्नै मौलिक बिशेषता छ । प्रत्येक वर्ष झै यस पटक पनि जात्रालाई भब्य तवरले मनाउने निर्णय भएको छ । यसका लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएके छ,’ उनले भनिन् ।

संस्थानले जात्रा सुरु भएदेखि अन्तिम दिनसम्मको सबै खर्चको व्यवस्थापन गर्दै आएको छ । बिनियोजित बजेट रथ र पर्व खर्चमा प्रयोग हुने गर्छ । रथ खर्च अन्तर्गत काठ, बेत, डोरि, रंग, सजावटको सामाग्री खरिद कार्य पर्छन् । रथ निर्माणमा सहभागि कलिगढलाई ज्याला दिने कार्य रथ खर्च अन्तर्गत नै पर्छन् ।

त्यसबाहेक, पर्व खर्च अन्तर्गत भने तेल, अण्डा, मासु, घिउ, बत्ति, मह, अविर, केशरी लगायतका सामाग्री खरिद कार्य पर्छन् । त्यस्तै, बलि चढाइने बोका, राँगा, हाँस, कुखुरा खरिद पनि पर्व खर्च अन्तर्गत नै पर्छन् । शान्तिपूर्ण ढंगले जात्रा आयोजना गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त पारेको छ । जात्रा अवधिभर मदिराको कारोबारलाई बन्द गरिएको छ । जात्रा हुने स्थानमा ढुंगामुढा, हुलहुज्जत, होहल्ला गर्ने कार्यलाई पनि प्रशासनले रोक लगाएको छ । उछृङ्खल गतिविधि रोक्न प्रहरी परिचालन गरिएको छ ।

भक्तपुरका प्रमख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जात्रा अवधिभर मदिराको कारोबार बन्द गर्न स्थानीय तथा उद्योग वाणिज्य संघ लगायतका सारोकारवाला निकायसँग सहमति भएको जानकारी दिए । ‘जात्रालाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ । मदिराको कारोबार रोक्न निर्देशन दिइएको छ । स्थानीय युवा क्लब, नगर, वडा तथा टोल समिति, उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायसँग मदिराको कारोबार नगर्न सहमति भएको छ । जात्रा स्थालमा सुरक्षाकर्मी खटाइएको छ,’ उनले भने ।

बिस्का जात्रा विषेशत भक्तपुरको तौमढी, थिमी र काठमाडौंको टोखामा धुमधामका साथ मनाइन्छ । ९ दिन आठ रातसम्म मनाइने यो जात्रा २७ चैतबाट सुरु भई ५ वैशाखमा समापन हुन्छ । बिशेषगरी भक्तपुरमा यो जात्रा धुमधामका साथ मनाइन्छ । जात्रा कमलविनायकस्थित तौमढीबाट सुरु हुन्छ ।
जात्रापूर्व भैरबको मुर्ती स्थापना गरि रथ बनाइन्छ । रथलाई तानेर सडकमा निकालिन्छ । रथको दुवैतर्फ डोरी राखिन्छ । सोही डोरी समातेर रथ तान्ने गरिन्छ । रथको एकतर्फ ३ र अर्कोतर्फ २ जोर डोरी राखिन्छ ।

जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा ‘द्यो क्वह विज्याइज्यू’ अर्थात ‘देवता (रथ) तल सवारी हुने’ भनिन्छ । जात्राको पहिलो दिन रथ तानेर तौमढीको तल्लो टोल पु¥याईन्छ । बिस्का जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । विस्केट जात्राको चौथो दिन भैरवको प्रतीक मानिने लिंगो तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी उठाउने गरिन्छ । त्यसलाई १ वैशाखमा ढालेर जात्रा पुनः सुरु गरिन्छ ।

लिंगो ठड्याउनुअघि त्यसको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधिन्छ । अष्टमातृकाको प्रतीक मानिने लिंगोलाई आठ वटा डोरीले तानेर ठड्याइन्छ । जात्रामा ठड्याइने लिंगो हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । त्यसो हुँदा यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

जात्रा व्यवस्थापन समितिका अध्यक्ष चवालले मौलिक परम्परा र संस्कृति रक्षा गर्ने उद्येश्यले हरेक वर्ष जात्रा मनाउने गरिएको बताए । उनले भने, ‘बिस्काको विशेषता भनेको वर्ष फेरिने हो । हाम्रो मन्दिर र संस्कृति जोगाउने पनि हो । जात्रा कहिलेबाट सुरु गरिएको थाहा छैन् । संस्कृति लोप भएको छैन्, जात्रामा युवाहरुको धेरै उपस्थिति भएको देखिन्छ । हाम्रो संस्कृति हो । हाम्रो जात्रा भनेर यतिको उपस्थिति भएको हो । यी सकारात्क पक्ष हुन् ।’

सुरुका दिन रथ तानेरै बित्छ । दोस्रो दिन राँगाको बली दिइन्छ । तेस्रो दिन लिंगो ठड्याउने गरिन्छ । भने, चौथो दिन सोही लिंगो ढाल्ने गरिन्छ । त्यसपछि जात्राको दोस्रो चरण सुरु हुन्छ । यस अवधिमा पनि रथ तान्ने कार्य निरन्तर रहन्छ । ५ बैशाखमा रथ पाँचतले मन्दिर पु¥याएपछि जात्रा सम्पन्न हुन्छ ।