Dhulikhel Eco Banner new

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन : नेपाल बार

5.47K
shares

काठमाडौं, २९ चैत । नेपाल बार एशोसिएसनले अबको दश दिन भित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि नबढाए सबै कानून व्यवसायी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तिका सन्दर्भमा भोलि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउँने पनि बताए ।

१० दिनभित्रमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलनमा जाने चेतावनी समेत उनको थियो । उनले भने,‘हामी अब लगभग आन्दोलनको श्रेणीमा पुगेका छौं म आजै आन्दोलन घोषणा भयो भन्दिन तर हामी ७ देखि १० दिन हेर्छौंं भोलि हामी प्रधानमन्त्रीलाई भेट्छौं । ७ देखि १० दिन भित्र यो समस्या समाधान भएन भने म सर्वोच्च अदालतलाई पनि भन्न चाहन्छु । यस विषयमा अदालत पनि बोलेन भने नेपालभरिका सबै कानून व्यवसायीहरु मिलेर अभियान अगाडि बढाउँने छौं ।’

उनले प्रधानन्यायाधीश नियुक्ति नभएकाले न्यायपालिका बिचल्लीमा परेकाले अब बार चुप लागेर नबस्ने पनि बताए । उच्च अदालत र जिल्लामा समेत धेरै न्यायाधीश पद रिक्त रहेकाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउने पनि अध्यक्ष घिमिरेले बताए ।