देशका ६४ स्थानमा आगलागी
वि.सं.२०८० वैशाख ४ सोमवार १२:१८
shares

काठमाडौं, ४ चैत । अहिले आगलागि हुने समय हो । देशका विभिन्न स्थानमा आगलागीबाट धनजनको क्षति पनि भइरहेको छ । खुख्खा मौसमका कारण आगलागीका घटनाहरु बढ्दै गएका छन् । हालसम्म देशका ६४ स्थानमा डढेलो लागेको तथ्यांकले देखाएको छ ।
देशका ३१ जिल्लाका ६४ ठाउँमा आगलागी भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । ६४ स्थानमध्ये चितवन जिल्लामा मात्रै १२ ठाउँमा आगलागी भएको छ । त्यस्तै बर्दियाका ४, बाँके, दाङ र प्युठानका ३/३ ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका २/२ ठाउँमा डढेलो लागेको छ ।
यस्तै, उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, कञ्चनपुर, गुल्मी, दैलेख, डडेल्धुरा र अछामका १/१ ठाउँमा डढेलो लागेको मन्त्रालयको तथ्यांकले देखाएको छ । मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको छ । यो वर्ष हिउँदमा पानी कम परेकाले नेपालमा डढेलोको जोखिम बढी रहेको विज्ञहरुको भनाइ छ । डढेलोका कारण काठमाडौंसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण समेत बढेको छ । तत्काल पानी पर्ने सम्भावना नभएककाले प्रद्रषण थप बढ्न सक्ने बताइएको छ ।



















