Dhulikhel Eco Banner new

राजमार्गमा खाल्डाखुल्डी पुरिँदै, दशैंमा घर जान सहज

6.2K
shares

काठमाडौँ, २६ असोज । सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्ने काम सुरु गरेको छ । सडकमा भएका खाल्डाखुल्डि पुरिएपछि दशैंमा उपत्यका बाहिर जाने यात्रुलाई सहज हुने भएको छ ।

वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएपछि तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) नातिबाबु खड्काले जानकारी दिए । साउनबाट नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको उनले बताए ।

विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्काे वर्षा सुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ । “वर्षा सकिनासाथ दसैँ पनि पर्छ । तर मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुन्छ ।’ उनले भने  ‘सबैतिर काम भइरहेको रिपोर्ट आइरहेको छ दसैँ अघि सबैतिर भइसक्छ होला ।’

राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन । सोहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इञ्जिनियर खड्काले जानकारी दिए । कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्ने हुन्छ ।

सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम सुरु भए पनि भने जस्तो प्रगति भइनसकेको उनले बताए । तुरुन्त भुक्तानी दिनसक्ने अवस्था नभएकाले पनि केही समस्या भएको उनको भनाई थियो ।

वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालु भइसकेको विभागले जनाएइको छ । कतिपय सडकमा ठूलो क्षति रहेकामा तीनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ । सडक भत्केको कारण देखाउदै राष्ट्रिय यातायत व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खुलाउन ढिला गरेका थिए ।