Dhulikhel Eco Banner new

गुराँस लघुवित्तको नाफामा ९० प्रतिशतको वृद्धि

3.46K
shares

काठमाडौं, ५ साउन । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा झण्डै ९० प्रतिशतले वृद्धि भएको छ।

गत आव २०८०/८१ को चौथो त्रैमासमा कम्पनीले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने यस आवको सोही अवधिमा नाफा ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद ब्याज आम्दानी पनि ५९.७४ प्रतिशत ले वृद्धि भई १३ करोड २४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कुल सञ्चालन आम्दानी अघिल्लो वर्षको ११ करोड १६ लाख रुपैयाँ बाट ४२.१६ प्रतिशत ले वृद्धि भई १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा अघिल्लो वर्ष ३ करोड २१ लाख रहेकोमा यो वर्ष ८७.८५ प्रतिशत को वृद्धिसहित ६ करोड ३ लाख रुपैयाँ पुगेको हो।

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित भएको छ। कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यस्तै, ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको विवरणमा उल्लेख छ।

कम्पनीको खराब कर्जा अनुपात २.९१ प्रतिशत मात्र रहेको छ। हालको आधार दर १२.६७ प्रतिशत, प्रतिशेयर आम्दानी ३४.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ।