कालिका लघुवित्तको नाफामा ३६.४२ प्रतिशतले वृद्धि
वि.सं.२०८२ साउन १४ बुधवार ११:३५
shares

काठमाडौं, १४ साउन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखनीय वित्तीय प्रगति गर्दै खुद नाफामा ३६.४२ प्रतिशतको वृद्धि हासिल गरेको छ। अघिल्लो आवको असार मसान्तसम्म ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १० करोड ८० लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको उल्लेखनीय वृद्धिले नाफा वृद्धि गर्न सहयोग गरेको देखिन्छ। अघिल्लो वर्ष २५ करोड ३५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशतले बढेर ३८ करोड १० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा पनि ७ करोड ८७ लाख रुपैयाँबाट झन्डै दोब्बर वृद्धि हुँदै १५ करोड ४२ लाख रुपैयाँमा पुगेको छ।
कम्पनीको चुक्ता पूँजी हाल ४० करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ लाख २४ हजार रुपैयाँ र वितरणयोग्य नाफा अर्थात् लाभांश क्षमता ६ करोड १९ लाख रुपैयाँ पुगेको छ।
वित्तीय सूचकहरूको हिसाबले कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २१.२८ रुपैयाँबाट बढेर २६.५१ रुपैयाँ पुगेको छ, जुन लगानीकर्ताहरूका लागि सकारात्मक संकेत मानिएको छ। यद्यपि, कम्पनीको खराब कर्जा अनुपात ३.७९ प्रतिशतबाट बढेर ४.६७ प्रतिशतमा पुगेको छ।



















