Dhulikhel Eco Banner new

लघुवित्तमा मेरिटोक्रेसी वित्तीय न्याय र संस्थागत सुधारको मार्गचित्र

8.79K
shares

काठमाडौं, २५ पुस । नेपालको ग्रामीण अर्थतन्त्रलाई गतिशिल बनाउने र वित्तीय पहुँचबाट टाढा रहेका समुदायलाई मूलप्रवाहीकरण गर्ने उद्देश्यका साथ सुरु भएको लघुवित्त अभियान यतिबेला गम्भीर संकटको भुमरीमा छ। यो संकट केवल आर्थिक मन्दी वा ऋणीको असमर्थताको उपज मात्र नभई संस्थागत सुशासनको विचलन र नेतृत्वगत असफलताको परिणाम पनि हो। यस पृष्ठभूमिमा लघुवित्त क्षेत्रलाई पुनर्जीवन दिन र यसको गुमेको साख फिर्ता ल्याउन ुमेरिटोक्रेसीु अर्थात् योग्यता प्रणालीको कार्यान्वयन एक निर्विकल्प प्रस्थानविन्दु बनेको छ।

लघुवित्तको दर्शन आफैँमा एक विशिष्ट र संवेदनशील विषय हो। यो वाणिज्य बैंकिङभन्दा भिन्न, सामाजिक उत्तरदायित्व र वित्तीय अनुशासनको सम्मिश्रण हो। यस्तो संवेदनशील क्षेत्रमा जब योग्यता र दक्षतालाई किनारा लगाएर राजनीतिक भागबण्डा वा शक्ति केन्द्रको सामिप्यताका आधारमा नेतृत्व चयन गरिन्छ, तब संस्थाको मौलिक चरित्र नै क्षयीकरण हुन पुग्छ। मेरिटोक्रेसीले नेतृत्वमा त्यस्ता व्यक्तिहरूको उपस्थिति सुनिश्चित गर्छ, जोसँग वित्तीय विश्लेषणको प्राविधिक ज्ञान मात्र नभई ग्रामीण समाजशास्त्र र आर्थिक मनोविज्ञानको समेत गहिरो बोध हुन्छ। संस्थाको उच्च तहमा रहने व्यक्तिहरूको चयन प्रक्रियामा पूर्ण पारिदर्शिता र प्रतिस्पर्धात्मकता कायम गर्न सकिएमा मात्र लघुवित्तले आफ्नो वास्तविक गन्तव्य पहिल्याउन सक्छ।

संस्थागत सुशासनको सन्दर्भमा योग्यता प्रणालीले एक बलियो सुरक्षा कवचको काम गर्छ। लघुवित्त संस्थाहरूमा हुने सञ्चालक समिति र कार्यकारी तहको नियुक्तिमा योग्यताको मापदण्ड कठोर बनाइनु पर्छ। जब नेतृत्वमा क्षमतावान् र निष्ठावान् व्यक्तिहरू पुग्छन्, तब संस्थाको निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व (Conflict of Interest) अन्त्य हुन्छ। राजनीतिक आडमा हुने नियुक्तिले संस्थालाई भोट बैंक वा कार्यकर्ता व्यवस्थापनको थलो बनाउने जोखिम सधैँ रहन्छ। यसको विपरीत, मेरिटोक्रेसीले व्यावसायिक मर्यादालाई शिरोधार्य गर्छ, जसले गर्दा कर्जा प्रवाहमा हुने दोहोरोपन, अनुत्पादक क्षेत्रमा हुने लगानी र आक्रामक बजार विस्तार जस्ता प्रवृत्तिहरू स्वतः नियन्त्रित हुन्छन्।

लघुवित्त क्षेत्रमा देखिएको अर्को मुख्य चुनौती भनेको नीतिगत कार्यान्वयनको फितलोपन हो। नियामक निकायले बनाएका नियमहरूलाई अक्षरश पालना गराउन र ती नियमभित्र रहेर नवप्रवर्तनकारी कार्यहरू गर्नका लागि उच्च बौद्धिक र व्यवस्थापकीय क्षमता आवश्यक पर्छ। योग्यताका आधारमा छानिएका नेतृत्वले तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिमको पूर्वानुमान गर्न सक्छन्, जसले गर्दा भविष्यमा आउन सक्ने वित्तीय संकटलाई समयमै टार्न सकिन्छ। डिजिटल रूपान्तरण र आधुनिक बैंकिङ प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छरितो र पारदर्शी बनाउन पनि योग्य जनशक्तिको भूमिका अतुलनीय हुन्छ।

यसका साथै, लघुवित्तको संकट समाधानका लागि ऋणी र संस्थाबीचको सम्बन्धलाई पुनः परिभाषित गर्न आवश्यक छ। योग्यता प्रणालीबाट दीक्षित नेतृत्वले ऋणीलाई संख्यात्मक इकाईका रूपमा मात्र नहेरी उनीहरूको उद्यमशीलता विकासको साझेदारका रूपमा लिने सोच राख्दछ। यसले गर्दा ुडेब्ट ट्रयापु ९ऋणको चक्र० मा फसेका नागरिकलाई सही परामर्श र पुनर्संरचनामार्फत बाहिर निकाल्न मद्दत पुग्छ। जब संस्थाको हरेक तहमा मेरिटोक्रेसीको आधारमा कर्मचारी र पदाधिकारीहरूको छनोट हुन्छ, तब मात्र संस्थाभित्र उत्तरदायित्व र जवाफदेहिताको संस्कृति स्थापित हुन्छ।

निष्कर्षमा, लघुवित्तलाई संकटमुक्त र सुधारमुखी बनाउने महाअभियानको मेरुदण्ड नै मेरिटोक्रेसी हो। यस क्षेत्रलाई राजनीतिक हस्तक्षेपको छायाबाट मुक्त गरी पूर्ण रूपमा व्यावसायिक बनाउनुको विकल्प छैन। योग्यता, क्षमता र नैतिकतालाई संस्थाको आधारस्तम्भ बनाउँदा मात्र यसले विपन्न वर्गको वास्तविक आर्थिक उत्थानमा योगदान दिन सक्छ। अतः लघुवित्तको पुनर्संरचना गर्दा योग्यता प्रणालीलाई एक कानुनी र व्यावहारिक अनिवार्यतातर्फ लैजानु नै आजको राष्ट्रिय आवश्यकता हो।