तनहुँ क्षेत्र नम्बर–२ः २८ वर्षपछि कांग्रेसको पुनर्जागरण र शंकर भण्डारी
वि.सं.२०८२ माघ १८ आइतवार १६:००
shares

झन्डै २८ वर्षको लामो अन्तरालपछि तनहुँ क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसले ऐतिहासिक सफलता हासिल गर्यो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले करिब ५ हजार ६ सय मतान्तरका साथ विजयी हुँदै एमालेको लामो समयदेखिको राजनीतिक विरासतलाई अन्त्य गरे। यो जित केवल एउटा निर्वाचन परिणाम मात्र थिएन, यो कांग्रेसका लागि संघर्ष, धैर्य र निरन्तर मेहनतको प्रतिफल थियो।
लामो समयपछि कांग्रेस कार्यकर्ताले आफ्नै क्षेत्रमा जितको खुसी खुलस्त रूपमा अनुभूति गर्न पाए। तर यो खुसीसँगै जिम्मेवारी र चुनौती पनि उत्तिकै ठूलो थियो—वर्षौँदेखि नदेखिएको विकासलाई अघि बढाउने, जनताको भरोसा कायम राख्ने र कांग्रेसको प्रभुत्वलाई दीर्घकालसम्म स्थापित गर्ने चुनौती।
चुनाव जितेपछि सबै ठाउँमा भव्य विजय जुलुस निकालिएको देखिएन। यसको सट्टा, जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र बुझ्ने अभ्यासलाई प्राथमिकता दिइयो। सानो समस्यादेखि समाजका ठूला सवालसम्म, जनतासामु प्रत्यक्ष पुग्ने नेता को हुन् भने—तनहुँ–२ का धेरै मतदाताको उत्तर एउटै हुन्छस् शंकर भण्डारी।
क्षेत्रमा सक्रिय रहँदै काठमाडौंको लाजिम्पाटमा सम्पर्क कार्यालय स्थापना गरेर उनले क्षेत्रदेखि केन्द्रसम्म कार्यकर्ता र सर्वसाधारणका गुनासो सुन्ने, समन्वय गर्ने र समाधान खोज्ने अभ्यासलाई निरन्तरता दिए। कांग्रेसबाट निर्वाचित सांसद भए पनि उनले पार्टीगत विभेद बिना सबै मतदाता र नागरिकको कुरा सुन्ने प्रयास गरे। पार्टीका आफ्नै कार्यकर्तालाई कहिलेकाहीँ पर्खन वा सम्हाल्न सकिएला, तर क्षेत्रभित्र वा बाहिरबाट आउने कुनै पनि मतदातालाई निराश बनाएर फर्काइएको अनुभूति जनतामा देखिँदैन।
निर्वाचन सम्पन्न भएको मितिदेखि पछिल्लो आपतकालीन चुनावसम्म आइपुग्दा उनको कार्यकाल करिब २।५ वर्षको मात्र रह्यो । ४३ वटा वडा रहेको यो क्षेत्र भौगोलिक रूपमा कठिन छ । झन्डै ७० प्रतिशतभन्दा बढी पहाडी भूभागले ओगटेको। काम गर्ने क्रममा कतै पटक–पटक पुगियो भने कतै आजसम्म पुग्न नसकिएको यथार्थ पनि छ। प्राथमिकताका आधारमा काम गर्दा यस्तो अवस्था आउनु स्वाभाविक भए पनि, यसले केही स्थानमा गुनासो र अपेक्षाको अन्तर भने थपिएको छ।
पूर्ण कार्यकाल काम गर्न नपाउँदै पुनः चुनावी अवस्थामा पुग्नु, प्रतिपक्षीलाई “काम नगरेको” भन्ने भ्रम फैलाउन सहज विषय बनेको छ। तर शंकर भण्डारीको राजनीतिक विशेषता यहीँ देखिन्छ। आफूले गरेका काममा जनताको विश्वास र भएका कमजोरी स्वीकार्ने साहस। यही आधारमा उनी पुनः चुनौतीपूर्ण चुनावी यात्रामा अघि बढिरहेका छन्।
अबको यात्रामा उनले साढे दुई वर्षमा पुगेका ठाउँबाट हिम्मत जुटाउँदै पुग्न बाँकी स्थानमा पुग्ने, काम हुन बाँकी क्षेत्रमा काम गर्ने, गुनासो भएका मतदाताको कुरा सुन्ने र असन्तुष्ट कार्यकर्तालाई समेट्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। अधुरा योजनालाई अघि बढाउने, देखिएका कमजोरी सुधार्ने र सुधारिएको नीति तथा दृष्टिकोणसहितको कांग्रेसलाई जनतासामु स्पष्ट रूपमा प्रस्तुत गर्ने हुटहुटी उनीमा देखिन्छ।
अन्ततः, पार्टीका लागि मात्र होइन, सम्पूर्ण जनताको प्रतिनिधि बन्न सक्ने क्षमता शंकर भण्डारीमा रहेको विश्वास धेरै मतदातामा छ। तनहुँ क्षेत्र नम्बर–२ का लागि मात्र होइन, देशकै लागि आवश्यक नेता र नेपाली कांग्रेस आवश्यक शक्ति हो भन्ने बुझाइका साथ पुनः एकपटक कांग्रेसलाई विजयी गराउने अभियानमा अघि बढ्न सबै मतदाता र कार्यकर्तामा यो लेख मार्फत विनम्र आग्रह गर्दछु।
















