Dhulikhel Eco Banner new

नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

1.7K
shares

काठमाडौं, १८ माघ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उदयपुर सिमेन्ट कम्पनी लिमिटेडका महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना तथा कैद सजायको मागसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार पौडेल उदयपुर सिमेन्ट कम्पनीका महाप्रबन्धक रहेका बेला क्लिंकरको मासिक तथा वार्षिक मौज्दात अभिलेखमा हेरफेर गरिएको, भौतिक परीक्षण तथा लेखापरीक्षण प्रतिवेदनलाई बेवास्ता गरिएको पाइएको छ । यसबाट सरकारी सम्पत्तिमा ठूलो आर्थिक क्षति पुगेको अख्तियारको निष्कर्ष छ ।

सोही मुद्दामा कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर बीसी प्रतिवादी छन् ।

पौडेललाई २० भदौ २०८२ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा चार वर्षका लागि नियुक्त गरेका थिए ।

अख्तियारले प्रतिवादीहरूले सार्वजनिक पदको दुरुपयोग गरी सरकारी सम्पत्ति हिनामिना गरेको ठहर गर्दै सबैबाट बिगोबमोजिम जरिवाना असुली र कैद सजायको मागदाबी गरेको छ ।