भारतले नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने
वि.सं.२०८२ माघ १८ आइतवार १६:१९
shares

काठमाडौं, १८ माघ । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने भएको छ।
आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षसरह ८ अर्ब भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख गरिएको हो।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई ८ अर्ब ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान गरेको थियो। सुरुमा ८ अर्ब रुपैयाँ अनुदान घोषणा गरिए पनि पछि संशोधन गर्दै रकम ८ अर्ब ३० करोड रुपैयाँ पुर्याइएको थियो।
बजेट अनुसार छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी अनुदान भुटानलाई दिने भएको छ। भुटानलाई आगामी आर्थिक वर्षमा २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराइने उल्लेख छ। यो रकम चालु आर्थिक वर्षको १ हजार ९ सय ५० करोड रुपैयाँभन्दा बढी हो।
त्यसैगरी भारतले माल्दिभ्सलाई ५ सय ५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलङ्कालाई ४ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बङ्गलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड तथा मङ्गोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान दिने बजेटमा उल्लेख गरिएको छ।
















