Dhulikhel Eco Banner new

लाभांश सूचना अब डिजिटलमै अनिवार्य

4.91K
shares

काठमाडौं, २३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत सबै कम्पनी, सामूहिक लगानी कोष तथा शेयर रजिस्ट्रार कम्पनीलाई शेयरधनी र लगानीकर्तालाई लाभांशसम्बन्धी सूचना अनिवार्य रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउन निर्देशन दिएको छ।

नेप्सेले शुक्रबार निर्देशन जारी गर्दै सूचीकृत कम्पनी, सामूहिक लगानी कोष तथा सेयर रजिस्ट्रार कम्पनीहरूले शेयरधनी, लगानीकर्ता र ऋणपत्रधनीलाई लाभांशसम्बन्धी जानकारी इमेल तथा एसएमएसमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो।

निर्देशनअनुसार कम्पनी तथा सामूहिक लगानी कोषहरूले इमेल र एसएमएसमार्फत स्टक सिम्बोल, लाभांश वितरण हुने सम्बन्धित आर्थिक वर्ष तथा लाभांशको दर र प्रतिशत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। त्यस्तै, ऋणपत्रको हकमा भने सिम्बोल, सम्बन्धित आर्थिक वर्ष र ब्याजदर उल्लेख गरी सूचना पठाउनुपर्नेछ।

नेप्सेले यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा लगानीकर्ता तथा शेयरधनीले आफ्नो लगानीसँग सम्बन्धित लाभांशको जानकारी समयमै र सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ। यसले सूचना प्रवाहलाई थप पारदर्शी बनाउने र सेयरधनीको पहुँचलाई सरल तथा प्रभावकारी बनाउने नेप्सेको अपेक्षा छ।