Dhulikhel Eco Banner new

नाइमाद्वारा ट्याक्सी मापदण्ड २०८१ संशोधनका लागि मन्त्रालयमा सुझाव पेश

1.95K
shares

काठमाडौं, ६ फागुन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी विभिन्न व्यवहारिक तथा नीतिगत विषयहरू उठाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष सुझाव पेश गरेको छ।

नाइमाले जारी गरेको विज्ञप्तिअनुसार हाल कार्यान्वयनमा रहेको मापदण्डले ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरेको छ। मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टिकरण स्पष्ट रूपमा तोकिएको र ती शर्त पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ।

तर व्यवहारमा भने विशेषगरी बाग्मती प्रदेश मा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको देखिएको भन्दै नाइमाले आपत्ति जनाएको छ। संघले सिडान बाहेकका अन्य यात्रुमैत्री तथा आवश्यकताअनुकूल सवारी साधनलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुका लागि स्पष्ट आधार नदेखिएको जनाएको छ।

नाइमाका अनुसार मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी शर्त पूरा गर्ने विभिन्न वर्गका सवारी साधनलाई अनुमति प्रदान गरिएमा ट्याक्सी सेवा प्रदायकलाई आवश्यकताअनुसार सेवा सञ्चालन गर्न लचकता प्राप्त हुनेछ। साथै यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता ९अपाङ्गता मैत्री० तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने संघको दाबी छ।

विज्ञप्तिमा विश्वका विभिन्न देशहरूमा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत ट्याक्सी सेवा सञ्चालन भइरहेको उदाहरण प्रस्तुत गर्दै नेपालमा विशेषगरी बाग्मती प्रदेशमा विकल्प सीमित रहेको उल्लेख गरिएको छ। केही अन्य सहरमा फरक वर्गका सवारी साधनलाई अनुमति दिइए पनि बाग्मती प्रदेशमा समान व्यवस्था लागू नभएकाले व्यवहारिक असमानता देखिएको नाइमाको भनाइ छ।

संघले साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा मापदण्डमा उल्लेखित सबै विशिष्टिकरण पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति दिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव दिएको छ।

नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्यप्रति सम्मान व्यक्त गर्दै उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सुझाव प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।