Dhulikhel Eco Banner new

बैंकको चेक राखेर जुवातास खेलिरहेका ६ जना पक्राउ

2.12K
shares

काठमाडौं, ८ फागुन । बैंकको चेक राखेर जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कुमाई चोकमा बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ छापा मारेर घरधनी सुरज सापकोटा सहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जुवाखालबाट नगद १ लाख ७४ हजार ६० रुपैयाँ, विभिन्न बैंकका २ थान चेक तथा १० बूक तास बरामद गरिएको छ। पक्राउ परेकाहरूले बैंकको चेकसमेत राखेर जुवा खेलिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।