Dhulikhel Eco Banner new

सहकारीमा आवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित

1.95K
shares

काठमाडौं, ८ फागुन । व्यास नगरपालिका १३ बेलबासका पशुपालन गर्दै आएका किसानले सुक्खा मौसमा पनि दूध उत्पादनमा वृद्धि गरेका छन् । दूधबाट राम्रै आम्दानी हुने देखेपछि यहाँका किसानले उत्साहित भएर गाईको सङ्ख्या थप्दै गएका छन् ।

बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध १६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालनमा आवद्ध भएका छन् । यसअघि दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएकामा अहिले एक हजार सात सय लिटर दूध सङ्कलन भइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए ।

“अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्ने तर वृद्धि हुँदै गएको छ,” उनले भने, “मासिक रु १५ हजारदेखि रु दुई लाखसम्म आम्दानी हुने गरेको छ ।” उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ । उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षति भएका व्यवस्थापक साँखीको भनाइ छ ।

दमौली बजारमा सञ्चालनमा ल्याएको दुई पसलबाट दैनिक ७०० लिटर दूध खपत हुने गरेको छ, भने एक दिन बिराएर सुजल डेरीले दुई हजार लिटर दूध पोखरा लैजाने गरेको संस्थाका सचिव मेघनाथ आचार्यले बताए ।

यस क्षेत्रका पशुपालन गर्ने किसानले अन्य व्यक्तिका लागि पनि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घरखर्च चलाउन सजिलो भएको पशुपालक किसान बताउँछन् ।

किसानको खरिद मूल्यअनुरुप अहिले दैनिक रु एक लाख ३४ हजारको दूध सङ्कलन हुने गरेको छ । उनीहरुले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाटप्रति लिटर रु तीन र व्यास नगरपालिकाबाट रु दुई अनुदान सहकारीमार्फत पाउने गरेका छन् ।

व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर थापाले बताए । गाउँमै दुग्ध सङ्कलन केन्द्र रहेकाले किसानले दैनिक बिहान र बेलुका उत्पादन गरेको दूध बिक्री गर्न सहज भएको छ । नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान प्रदान गर्दै आएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए ।