चैत २ गतेदेखि ‘स्मार्ट मनी टक्स’ अभियानसहित ग्लोबल मनी विक मनाउने
वि.सं.२०८२ फागुन ८ शुक्रवार १४:०३
shares

काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकले आगामी चैत २ गते देखि ८ गते सम्म “स्मार्ट मनी टक्स” नाराका साथ ग्लोबल मनी विक मनाउने तयारी गरेको छ। यस अभियानको चौथो शृङ्खला केन्द्रीय बैंकले राष्ट्रिय स्तरमा आयोजना गर्दैछ।
बालबालिका र युवाहरूलाई वित्तीय ज्ञान, सीप र सही आर्थिक व्यवहार सिकाउने उद्देश्यले सन् २०१२ देखि अर्गनाइजेशन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा ग्लोबल मनी विक विश्वभर मनाइँदै आएको छ। अहिलेसम्म १७६ मुलुकका ७ करोडभन्दा बढी बालबालिका र युवाले यसबाट लाभ लिइसकेका छन्।
नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले मुख्य संयोजकको भूमिका निभाउँदै वित्तीय प्रणालीमा आबद्ध विभिन्न संस्थाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नेछ। साथै, अन्य संघसंस्था, निकाय र सरोकारवाला समूहहरूलाई पनि सहभागी भई अभियानलाई अझ प्रभावकारी बनाउन आह्वान गरिएको छ।
केन्द्रीय बैंकले सबै संघसंस्था र निकायहरूलाई वित्तीय साक्षरता अभिवृद्धिमा योगदान पुर्याउँदै ग्लोबल मनी विक भव्य रूपमा मनाउन आग्रह गरेको छ।
















