मोबाइल बोकेर बेथिति खोज्ने अभियन्ता अब संघीय सांसद
वि.सं.२०८२ फागुन २४ आइतवार १३:१९
shares

काठमाडौं, २४ फागुन । देशमा भएको जेनजी आन्दोलन र त्यसपछि बढेको नागरिक निराशाको प्रभाव मतपेटिकामा देखिएको छ। यही लहरमा धादिङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी ३७ वर्षीया आशिका तामाङ ३९ हजार १२८ मतसहित सानदार जित हासिल गर्दै संघीय संसद्मा पुगेकी छन्।
उनले पञ्चायतकालदेखि चुनाव जित्दै आएका अनुभवी नेता राजेन्द्र पाण्डेलाई समेत पछि पार्दै तेस्रो स्थानमा झारिन्। अघिल्लो निर्वाचनमा रास्वपाले पाएको मतभन्दा तीन गुणाभन्दा बढी मत ल्याएर उनले धादिङमा नयाँ राजनीतिक सन्देश दिएकी छन्।
२०४५ सालमा धादिङको मलेखुमा जन्मिएकी आशिकाको राजनीतिक पृष्ठभूमि थिएन। कलाकारिताबाट सार्वजनिक जीवन सुरु गरेकी उनी नेपाली चलचित्र सुश्री’मा मुख्य भूमिकामा देखिएकी थिइन्।
पछि जर्मनी बसाइँपछि नेपाल फर्केर उनले सामाजिक अभियान सुरु गरिन्। ‘ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसन’ मार्फत सरसफाइ, उपभोक्ता ठगी, सार्वजनिक बेथितिविरुद्ध आवाज उठाउँदै उनले सडकबाटै अभियान चलाइन्।
साँगाको झोलुङ्गे पुलको शुल्कको विरोधमा रसिद च्यातेपछि पक्राउसमेत परेकी उनी सामाजिक सञ्जालमा ‘विद्रोही अभियन्ता’को रूपमा चिनिन थालिन्। जेनजी आन्दोलनका क्रममा घाइते युवालाई सहयोग गर्दै सक्रिय रहेपछि धेरै युवाले उनलाई ‘दिदी’ भनेर सम्बोधन गर्न थाले।
यसै पृष्ठभूमिमा रास्वपाले उनलाई धादिङ–१ बाट उम्मेदवार बनायो। भ्रष्टाचार अन्त्य, सरकारी ढिलासुस्ती हटाउने र नयाँ पुस्ताको आवाज संसद्मा पुर्याउने एजेन्डासहित चुनाव लडेकी आशिकालाई मतदाताले विश्वास गरेका छन्।
सडकमा बेथिति खोज्दै मोबाइल लिएर हिँड्ने अभियन्ताबाट अहिले उनी ३९ हजारभन्दा बढी मतदाताको विश्वास बोकेर संसद् प्रवेश गर्ने जननिर्वाचित सांसद बनेकी छन्।



















