Dhulikhel Eco Banner new

फागुनमा एफडीआई प्रतिबद्धता घट्यो, ३० उद्योगमा ३८ करोड ६० लाख मात्रै

4.55K
shares

काठमाडौं, ४ चैत । चालु आर्थिक वर्षको फागुन महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ। उद्योग विभागका अनुसार फागुनमा ३० वटा उद्योगमा कुल ३८ करोड ६० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो।

विभागले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार स्वचालित मार्गबाट २६ उद्योगमा १८ करोड ७० लाख रुपैयाँ तथा स्वीकृति मार्गबाट ४ उद्योगमा १९ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनामा भने कुल ५५४ उद्योगमा ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ। यस अवधिमा ८ ठूला, ८ मझौला र ५३८ साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ। फागुन महिनामा मात्रै प्रतिबद्धता आएका सबै ३० उद्योग साना प्रकृतिका रहेका छन्।

गत माघ महिनाको तुलनामा फागुनमा एफडीआई प्रतिबद्धता घटेको देखिन्छ। माघमा १ अर्ब ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा फागुनमा घटेर ३८ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो।

क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता कृषि तथा वन पैदावरमा आधारित उद्योगमा ५४ प्रतिशत अर्थात् २१ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। त्यसपछि पर्यटन क्षेत्रमा २७ प्रतिशत अर्थात् ११ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।