Dhulikhel Eco Banner new

नेपालको पहिलो चौथो तहको विशाल डाटा केन्द्र घोषणाः डिजिटल सार्वभौमिकता र भविष्यको पूर्वाधारमा नयाँ युगको सुरुवात

3K
shares

काठमाडौं, २४ वैशाख । नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै देशको डाटा सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित ‘बिचुटेन डाटा भोल्ट’ले नेपालको पहिलो चौथो तहको विशाल डाटा केन्द्र निर्माण गर्ने घोषणा गरेको छ। कम्पनीले यस परियोजनामार्फत नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज केडिया, विशालकुमार झा तथा शरद गोयलको नेतृत्वमा अघि बढेको यस स्वदेशी कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता तथा सुरक्षित प्रविधिमैत्री भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीका अनुसार निर्माण हुन लागेको डाटा केन्द्र नेपालकै पहिलो चौथो तह प्रमाणित केन्द्र हुनेछ, जसले अत्यन्त न्यून प्राविधिक अवरोधसहित उच्चस्तरीय सेवा उपलब्ध गराउनेछ। यसले विशेषगरी बैंकिङ, दूरसञ्चार तथा संवेदनशील क्षेत्रलाई भरपर्दो सेवा दिने विश्वास गरिएको छ।

परियोजना काठमाडौं र वीरगञ्ज गरी दुई रणनीतिक स्थानमा निर्माण गरिनेछ। प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सञ्चालन सुरु गरिने र सन् २०३० सम्म पाँच मेगावाटसम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ। प्रविधि तथा प्राविधिक विशेषज्ञताका लागि कम्पनीले विश्वप्रसिद्ध प्रविधि संस्थाहरूसँग रणनीतिक सहकार्य गरेको जनाएको छ। यस परियोजनाले सूचना प्रविधि तथा इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। साथै भविष्यमा नेपालमै विभिन्न विद्युतीय उपकरण उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसमेत कम्पनीले अघि सारेको छ।

कम्पनीले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने व्यवस्था सुनिश्चित गरिने जनाएको छ। यसबाट विदेशी सर्भरमाथिको निर्भरता घट्ने, राष्ट्रिय सुरक्षा सुदृढ हुने तथा साइबर सुरक्षाको क्षमता थप मजबुत बन्ने विश्वास गरिएको छ। ऊर्जा दक्ष र वातावरणमैत्री प्रविधिमा आधारित रहने उक्त डाटा केन्द्र पूर्ण रूपमा जलविद्युत्मा सञ्चालन गरिने कम्पनीले जनाएको छ। यसले दिगो तथा हरित प्रविधिको प्रयोगलाई समेत प्रोत्साहन गर्ने विश्वास लिइएको छ। बिचुटेन डाटा भोल्ट नेपालमा आधारित निजी कम्पनी हो। कम्पनीले सुरक्षित, विस्तारयोग्य तथा अन्तर्राष्ट्रियस्तरको डिजिटल पूर्वाधार निर्माणमा काम गरिरहेको जनाएको छ। कम्पनीका अनुसार ‘बिचुटेन’ नाम भगवान विष्णुको जापानी बौद्ध नामबाट प्रेरित हो, जसको अर्थ “रक्षक” भन्ने हुन्छ।