Dhulikhel Eco Banner new

क्यान महासंघ कोशी प्रदेश र जिल्ला शाखाहरूको सक्रियतामा डिजिटल नेपाल विकेन्द्रीकरण संवाद सम्पन्न

767
shares

काठमाडौं, २८ जेठ । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई काठमाडौं केन्द्रित संरचनाबाट विकेन्द्रीकरण गर्दै कोशी प्रदेशलाई क्षेत्रीय आईटी हबका रूपमा विकास गर्ने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक गरिएको छ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशको नेतृत्व तथा मोरङ, सुनसरी र उदयपुर जिल्ला शाखाहरूको सहकार्यमा आयोजित ‘डिजिटल नेपाल विकेन्द्रीकरण संवाद’ कार्यक्रममा उक्त रणनीतिक अवधारणा सार्वजनिक गरिएको हो। कार्यक्रमले कोशी प्रदेशलाई नेपालको डिजिटल अर्थतन्त्रको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरेको छ।

कार्यक्रममा क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईको अध्यक्षता तथा क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। संवादका क्रममा “कोशी रिजनल आईटी हब” शीर्षकको रणनीतिक दस्तावेज सार्वजनिक गरिएको थियो।

कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठले प्रस्तुत रणनीतिक खाकाको प्रशंसा गर्दै कोशी प्रदेश सरकारसँगको सहकार्यमा यसको प्रभावकारी कार्यान्वयन गरिने बताए।क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईले कोशी क्षेत्र आफैंमा क्षेत्रीय आईटी हब बन्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सबै सरोकारवालासँग सहकार्यका लागि संस्था प्रतिबद्ध रहेको बताए।

त्यसैगरी, क्यान महासंघ मोरङका अध्यक्ष सुमित कुमार शाहले स्थानीय प्रतिभा, नवप्रवर्तन र प्रविधि स्टार्टअपलाई नीतिगत समर्थन आवश्यक रहेको धारणा राखे। क्यान महासंघ सुनसरीका अध्यक्ष लोकेन्द्र प्रसाद ढकालले स्थानीय उद्यमशीलता प्रवर्द्धनमार्फत दिगो प्रविधि इकोसिस्टम निर्माण गर्नुपर्नेमा जोड दिए।

क्यान महासंघ उदयपुरका अध्यक्ष राजन आचार्यले डिजिटल नेपालको विकेन्द्रित अवधारणालाई सफल बनाउन कोशी क्षेत्रमा बलियो आईसीटी आधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

रणनीतिक दस्तावेजअनुसार विराटनगर–इटहरी–धरान क्षेत्रलाई एकीकृत डिजिटल तथा प्रविधि कोरिडोरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रशासनिक पहुँच, औद्योगिक आधार, सीमावर्ती व्यापारिक गतिविधि तथा प्रविधिमैत्री बजारका कारण विराटनगरलाई क्षेत्रीय आईटी हबका रूपमा विकास गर्न सकिने उल्लेख गरिएको छ।

अभियानको मुख्य उद्देश्य स्थानीयस्तरमा प्रविधि विकास तथा रोजगारी सिर्जना मात्र नभई ‘नेपाल मेड सफ्टवेयर’ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने रहेको आयोजकहरूको भनाइ छ। हेल्थ(टेक, एग्रि(टेक, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता एआई आधारित सार्वजनिक सेवाहरूलाई प्राथमिकतामा राखिएको छ।

आयोजकका अनुसार बजेट २०८३र८४ पश्चात् उक्त रणनीति कार्यान्वयनका लागि ० देखि १०० दिनभित्र विशेष कार्यदल गठन, स्थानीय आईटी कम्पनी तथा फ्रिलान्सरहरूको तथ्याङ्क संकलन र क्षेत्रगत सम्भावनाको म्यापिङ कार्य सुरु गरिनेछ।

क्यान कोशीले बहुपक्षीय परामर्श तथा सहकार्यमार्फत डिजिटल नेपालको नयाँ चरणको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।