Dhulikhel Eco Banner new

अमेरिकामा नेपाली विद्यार्थीको सफलता : कृत्रिम पुनर्स्थापना उपकरण विकास गरी प्रथम पुरस्कार

1.2K
shares

काठमाडौं, २८ जेठ । नेपाली विद्यार्थीद्वय कृतज्या उप्रेती र सुयोग न्यौपानेले अमेरिकामा आयोजित सन् २०२६ को GenSpiration Prize Competition मा प्रथम स्थान हासिल गरेका छन्।

दुवैले स्ट्रोक तथा स्नायुसम्बन्धी समस्याबाट प्रभावित बिरामीहरूको हातको नाडी (Wrist) पुनर्स्थापनामा सहयोग पुर्‍याउने हलुका, कम लागतको ‘टु–डिग्री अफ फ्रिडम (2-DOF) सफ्ट न्युमेटिक रिस्ट एक्सोस्केलेटन’ विकास गरी उक्त सफलता हासिल गरेका हुन्। यो उपकरणले बिरामीलाई घरमै बसेर प्राकृतिक र सहज ढंगले पुनर्स्थापना अभ्यास गर्न सहयोग पुर्‍याउने बताइएको छ।

अमेरिकाको University of Texas at Arlington Research Institute (UTARI) मा अनुसन्धान सहायकका रूपमा कार्यरत उप्रेती र न्यौपानेको टोलीले विकसित गरेको उपकरणले नाडीको दुई प्रमुख चालहरूलाई सहयोग गर्ने क्षमता राख्छ। यसमा प्रयोग गरिएको सफ्ट न्युमेटिक प्रविधिले पुनर्स्थापना प्रक्रियालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा विद्यार्थी आविष्कारकहरूको सामाजिक प्रभाव पार्न सक्ने नवप्रवर्तनलाई मूल्याङ्कन गरिन्छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरूको टोलीले प्रथम स्थानसँगै ५ हजार अमेरिकी डलर पुरस्कार समेत प्राप्त गरेको छ।

यो उपलब्धिलाई नेपाली विद्यार्थीहरूको अनुसन्धान, नवप्रवर्तन र विश्वस्तरीय प्रतिस्पर्धामा बढ्दो उपस्थितिको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।