टेकस्किल्स–नेपालट्युब छात्रवृत्तिमा सोफिया तामाङ उत्कृष्ट, प्राथना मिश्र फस्ट रनरअप
वि.सं.२०८३ जेठ २८ बिहीवार १५:२१
shares

काठमाडौं, २८ जेठ। अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित १६ हप्ते आइटी छात्रवृत्ति कार्यक्रमको विजेता घोषणा गरिएको छ। नुवाकोटकी सोफिया तामाङ ‘च्याम्पियन’ र सर्लाहीकी प्राथना मिश्र ‘फस्ट रनरअप’ घोषित भएका छन्।
दुवै जनाले अष्ट्रेलियन आइटी कम्पनी एक्टिभ आइटीमा रोजगारी प्राप्त गरेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहीबार आयोजित भएको कार्यक्रममा ‘सिस्टम नेटवर्क सपोर्ट जब रेडी प्रोग्राम’ अन्तर्गत उत्कृष्ट विद्यार्थीहरूको घोषणा गरिएको हो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूले हासिल गरेका प्राविधिक सीपको प्रत्यक्ष प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी हुन देशभरबाट २ हजारभन्दा बढी आइटी विद्यार्थीले आवेदन दिएका थिए। चार चरणको छनोट प्रक्रियापछि ८ जना विद्यार्थी अन्तिम सूचीमा परेका थिए। व्यक्तिगत कारणले २ जनाले कार्यक्रम छाडेपछि ६ जना विद्यार्थीले अन्तिम चरणको ‘जब रेडी’ कार्यक्रम पूरा गरेका हुन्।
छात्रवृत्तिअन्तर्गत सामान्यतया ३ हजार ३ सय अष्ट्रेलियन डलर शुल्क लाग्ने चार महिने कोर्स निःशुल्क प्रदान गरिएको थियो।
प्रशिक्षण काठमाडौंको धुम्बराहीस्थित केन्द्रमा सञ्चालन गरिएको थियो। अन्तिम चरणमा विवेक अधिकारी, पुष्पा सुक्ला, प्राथना मिश्र, सोफिया तामाङ, सिसम श्रेष्ठ तथा सुरेश शाही सहभागी थिए।कार्यक्रममा बोल्दै टेकस्किल्स इन्स्टिच्युटका संस्थापक विराज बडेलले नेपालमै यस्ता सीपमूलक आइटी कार्यक्रम विस्तार गर्ने योजना रहेको बताएका छन् ।
नेपाललाई आइटी हब बनाउने सरकारी लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए । उनले भने ”यी सबै विद्यार्थीहरूलाई रोजगारीका लागि आवश्यक सीप र क्षमता प्रदान गरिएको छ। उनीहरू अहिले रोजगार बजारमा प्रतिस्पर्धा गर्न तयार छन्” ।
नेपालट्युब अष्ट्रेलियाका सम्पादक सरल गुरुङले विदेशमा रहेका नेपालीहरूले विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै आफ्नो क्षमता र स्रोतअनुसार देशका लागि योगदान गर्नुपर्ने बताए।
आयोजकका अनुसार यसअघि पनि यस्तै कार्यक्रममार्फत अष्ट्रेलियामा ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको छ।















