Dhulikhel Eco Banner new

नाडा अटो एक्स्पोमा डोङफेङका बस सार्वजनिक हुँदै

247
shares

काठमाडौं, २४ साउन । । हिमालयन अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित सवारीसाधन निर्माता कम्पनी डोङफेङका बस नेपालमा सार्वजनिक गर्ने भएको छ। यही भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो एक्स्पोमा कम्पनीले दुई मोडलका बस सार्वजनिक गर्न लागेको हो।

एक्स्पोमा ७ दशमलव २ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस प्रदर्शन गरिने कम्पनीले जनाएको छ। साथै, निकट भविष्यमा ९ मिटरका ३८ सिट र १२ मिटरका ५२ सिट क्षमताका बससमेत नेपाल ल्याउने तयारी भइरहेको छ।

नेपालमा ठूला विद्युतीय बसको माग बढ्दै गएको र सरकारले समेत विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिन थालेपछि डोङफेङका बस नेपाल भित्र्याइएको कम्पनीको भनाइ छ।

बसको मूल्य तथा विस्तृत प्राविधिक विवरण एक्स्पोमै सार्वजनिक गरिनेछ। कम्पनीले नेपालमा हाल उपलब्ध अन्य ब्रान्डका बसको तुलनामा निकै प्रतिस्पर्धी मूल्यमा डोङफेङका बस उपलब्ध गराउने जनाएको छ। एक्स्पोमा बस बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजनासमेत ल्याइने कम्पनीले जानकारी दिएको छ।

सन् १९६९ मा स्थापना भएको डोङफेङ चीनको प्रमुख सवारीसाधन निर्माता कम्पनीमध्ये एक हो। कम्पनीले यात्रुवाहक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न प्रकारका सवारीसाधनका पार्टपुर्जा उत्पादन गर्दै आएको छ। डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा बिक्री तथा निर्यात हुँदै आएका छन्।

नेपालमा डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस यसअघि नै बिक्री हुँदै आएका छन्। हिमालयन अर्गनाइजेसनले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी समूहअन्तर्गतको म्याक्सस ब्रान्डका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएको छ।

डोङफेङ बसको बिक्रीपछिको सेवा तथा आवश्यक पार्टपुर्जा देशभर रहेका हिमालयन अर्गनाइजेसनका शाखा तथा आधिकारिक विक्रेतामार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।