पहिरोले तातोपानी नाका अवरुद्ध, चीनसँगको व्यापार प्रभावित
वि.सं.२०८३ साउन २४ आइतवार ०९:३४
shares

सिन्धुपाल्चोक — नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा बढी समयदेखि अवरुद्ध हुँदा आयात–निर्यात प्रभावित भएको छ। सडकका विभिन्न खण्डमा पहिरो खसेपछि चीनबाट सामान बोकेर आएका कन्टेनर नेपाल प्रवेश गर्न सकेका छैनन्।
तातोपानी भन्सार कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि नाकाबाट हुने नियमित व्यापारिक गतिविधि रोकिएको छ। प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले सडक सञ्चालनमा नआएसम्म चीनतर्फबाट मालवाहक कन्टेनर भित्रिने अवस्था नरहेको बताए।
सडक कहिलेसम्म खुल्ने भन्ने निश्चित नभएको भन्सार कार्यालयले जनाएको छ। नाका लामो समय बन्द हुँदा चीनबाट आयात हुने वस्तुको आपूर्ति प्रभावित हुनुका साथै व्यवसायीसमेत समस्यामा परेका छन्।
पहिरो हटाएर सडक सञ्चालनमा आएपछि मात्रै तातोपानी नाकाबाट नियमित आयात–निर्यात पुनः सुरु हुने जनाइएको छ।















