ग्रिनप्लाई नेपालको आईपीओ प्रस्ताव पारित, संस्थापक शेयरमा रु. १२५ प्रिमियम
वि.सं.२०८३ साउन २४ आइतवार ०९:३२
shares

काठमाडौं, २४ साउन। ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारण सभाले सर्वसाधारणका लागि २० प्रतिशत शेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको हो।
सभाले संस्थापक शेयरको अंकित मूल्यमा रु.१२५ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णयसमेत गरेको छ। आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशत बिक्री वृद्धि गर्दै करिब रु.४७ करोड ५० लाख कारोबार गरेको जनाएको छ। कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा रहेको दाबी छ।
कम्पनीले उत्पादनको करिब ३० प्रतिशत नेपाली बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ। कम्पनीले विआई प्रमाणिकरण प्राप्त गरी भारतीय बजारमा समेत उत्पादन निर्यात गरिरहेको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१र८२ मा ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ भने नेट ट्याङ्गिबल एसेट करिब रु. ८ करोड २० लाखबाट बढेर रु. २२ करोड ६० लाख पुगेको छ।
अध्यक्ष जीवनप्रसाद रिजाल रहेको कम्पनीमा दिवाकर राठी, डगेन्द्रप्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल तथा विवेक अग्रवाललगायतको लगानी रहेको छ। स्टार इन्भेष्टमेन्ट फण्ड, टप फण्ड र हार्वेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ।
कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, प्रविधिमा लगानी र निर्यात विस्तारलाई प्राथमिकता दिँदै दीर्घकालीन रूपमा उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य लिएको जनाएको छ।















