Dhulikhel Eco Banner new

यातायात क्षेत्रमा १२ अर्ब ९० करोडको भौतिक क्षति

910
shares

काठमाडौं, २९ भदौ । भोटेकोशीमा आएको बाढीले सवारी साधन तथा यातायात क्षेत्रमा १२ अर्ब ९० करोडको भौतिक क्षति भएको छ । बाढीले उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार र सडकमा रहेका सवारी साधन तथा यातायात क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण द्वारा सार्वजनिक गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार बाढीका कारण रसुवागढी भन्सार कार्यालयका भौतिक संरचना ध्वस्त हुँदा भन्सार पासका लागि ल्याएका सवारी साधन र अन्य सडकमा गुडिरहेका समेत गरी मात्रै झन्डै १३ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार बाढीले गल्छी–बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डमा गुडिरहेका, पार्किङमा राखिएका तथा सामान ढुवानीमा रहेका सवारी साधनहरूमा ठुलो विनाश निम्त्याएको छ ।

बाढी र गेग्रान बहावले बगाएका, पुरिएका र क्षतिग्रस्त भएका सवारी साधन तथा यातायात सम्बद्ध सम्पत्तिमा मात्रै १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ अर्थात् ९करिब ८ करोड ५० लाख अमेरिकी डलर० बराबरको प्रत्यक्ष क्षति पुगेको छ ।

बाढीका कारण सडक सञ्जाल विच्छेद भई सवारी साधन सञ्चालन हुन नसक्दा ढुवानी र यातायात व्यवसायतर्फ थप ३१ करोड ४५ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ।

यातायात व्यवसाय प्रभावित

यस क्षेत्रमा सामान ढुवानी, कन्टेनर र सार्वजनिक यातायात सञ्चालन गर्ने कम्तीमा ८७ वटा यातायात प्रतिष्ठान र व्यवसायहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

चीनबाट आयात गरिएका विद्युतीय सामग्री, सवारी साधन, तयारी पोसाक, जुत्ता–चप्पल, औद्योगिक उपकरण तथा मेसिनरी बोकेका कैयौँ मालवाहक ट्रक र कन्टेनरहरू बाढीको लेदोमा पुरिएका तथा बगेका कारण यो क्षेत्रमा यति ठुलो परिमाणको वित्तीय नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ ।