Dhulikhel Eco Banner new

पूँजी बजार सुधार कार्ययोजनाको स्वागत, दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने व्यवस्था सकारात्मक : अध्यक्ष ढकाल

871
shares
काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्।

अध्यक्ष ढकालले कार्ययोजना नेपालको पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन्।

उनले कार्ययोजनामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा मूल्य निर्धारण प्रणाली (प्राइस डिस्कभरी) लागू गर्ने, मार्जिन लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बन्ड बजारको विकास गर्ने र गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने व्यवस्थालाई सकारात्मक रूपमा लिएको बताए।

त्यसैगरी, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरणसम्बन्धी व्यवस्थाले नेपालको पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था पनि सकारात्मक रहेको ढकालले बताए।

उनका अनुसार यस्तो व्यवस्थाले दीर्घकालीन लगानी संस्कृतिको विकास गर्नुका साथै बजारमा स्थायित्व कायम गर्न, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र पूँजी बजारको दिगो विकासमा टेवा पुर्‍याउनेछ।

सरकारले घोषणा गरेका सुधारहरू समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन भएमा पूँजी बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पूँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने उनले बताए।

अध्यक्ष ढकालले पूँजी बजार सुधारप्रति देखाएको प्रतिबद्धताका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।