Dhulikhel Eco Banner new

सेयरको पुँजीगत लाभकर घटेर ३.५ र ५ प्रतिशत कायम, अब नेप्सेले नयाँ लय समात्ला ?

832
shares

सरकारले सुस्त पुँजी बजारलाई गति दिन सेयर कारोबारबाट हुने लाभमा लाग्ने पुँजीगत लाभकर (सीजीटी) भारी मात्रामा घटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाउने ऐतिहासिक निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब ३ सय ६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ३.५ प्रतिशत र त्यसभन्दा कम अवधि होल्ड गरेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत मात्र अग्रिम कर लाग्नेछ । चालु आर्थिक वर्षको बजेटमार्फत दीर्घकालीन (३६५ दिनभन्दा बढी) लगानीमा ७.५ प्रतिशत र अल्पकालीन लगानीमा १० प्रतिशत अग्रिम करको व्यवस्था गरिएको थियो । मन्त्रिपरिषद्को यो निर्णयसँगै दुवै दर उल्लेख्य रूपमा घटेका छन् ।

पुँजीगत लाभकर घटाउने विषय अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार सार्वजनिक गरेको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा समेत समेटिएको थियो । उक्त कार्ययोजनामा दीर्घकालीन लगानीको लाभमा ३.७५ प्रतिशत र अल्पकालीनमा ५ प्रतिशत कर प्रस्ताव गरिएको थियो । तर, मन्त्रिपरिषद्ले भने दीर्घकालीन लगानीकर्तालाई थप सहुलियत दिँदै करको दर ३.५ प्रतिशत मात्र कायम गरेको छ ।

करको नयाँ दर लागू भएपछि सेयर लगानीकर्ताको कारोबार लागत घट्ने र बजारमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ । सरकारले सार्वजनिक गरेको कार्ययोजनामा सेयर कारोबारबाट भएको नाफा–नोक्सान समायोजन गरी खुद लाभमा मात्र कर लगाउने प्रणाली विकास गर्ने विषयसमेत समेटिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार करको नयाँ दर कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि नयाँ व्यवस्था लागू हुनेछ ।

बुधबार बजारमा स्वाभाविक ‘करेक्सन’

अर्थ मन्त्रालयको २१ बुँदे सुधार कार्ययोजना घोषणापछि लगातार तीन दिनसम्म उच्च अंकले बढेको नेप्से परिसूचकमा बुधबार भने स्वाभाविक ‘करेक्सन’ देखिएको छ । छोटो अवधिका लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा र खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी हुँदा नेप्से २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा ओर्लिएको छ ।

परिसूचकसँगै बुधबार कारोबार रकममा पनि संकुचन आएको छ । मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको उत्साहजनक सेयर किनबेच भएको बजारमा बुधबार भने ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भयो । जम्मा तीन कारोबार दिनमै नेप्सेले १०२.०६ अंकको फराकिलो छलाङ मारेपछि बजारमा छोटो अवधिको नाफा बुक गर्ने प्रवृत्ति हाबी हुनुलाई विश्लेषकहरूले पुँजी बजारको सामान्य प्राविधिक चक्रका रूपमा अर्थ्याएका छन् ।

बुधबार बजारमा सूचीकृत सबै १३ वटै उपसमूह राताम्य बने । विशेषगरी अघिल्ला दिनहरूमा लगानीकर्ताको उच्च आकर्षणमा परेका जलविद्युत् र बिमा क्षेत्रमा बढी बिक्री चाप देखियो । यद्यपि, समग्र बजार ओरालो लाग्दा पनि नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.३७ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको करिब साढे ५ प्रतिशतले बढ्नुले लगानीकर्ताहरू कम्पनी विशेष (स्टक स्पेसिफिक) रणनीतिमा केन्द्रित रहेको देखाउँछ ।

प्राविधिक रूपमा बलियो बजार

अघिल्ला दिनहरूमा ठूलो अंकको वृद्धि देखेको बजारमा बुधबार सुरुआतदेखि नै बिक्री चाप हाबी भएको थियो । २६३५.३१ विन्दुमा खुलेको नेप्से २६३९.३० सम्म पुगे पनि अन्त्यमा रातो क्यान्डल बनाउँदै बन्द भयो । तर, घट्दो बजारमा भोल्युममा संकुचन आउनुले लगानीकर्ताहरूमा ‘प्यानिक सेल’ नरहेको विश्लेषण गरिएको छ ।

प्राविधिक विश्लेषणका दृष्टिले आजको गिरावटले बजारको समग्र सुधारको लयलाई असर पुर्‍याएको छैन । दैनिक चार्टमा एमएसीडी (MACD) सूचकले अझै पनि ‘बुलिश क्रसओभर’ कायम राखेको छ भने सापेक्षिक शक्ति सूचक (RSI) ५३.५७ को विन्दुमा रहेर ५० भन्दा माथि नै टिकेको छ ।

बजारको संरचनात्मक रेखा (Chart Pattern) लाई हेर्दा नेप्सेले बुधबार आफ्नो पहिलो प्रमुख टेवा विन्दु (Support 1) २६०२.३९ लाई दरिलो आधार बनाएको छ । आजको कारोबारमा परिसूचक २६०४.४१ को तल्लो विन्दुसम्म झरेर पुनः माथि फर्किनुले २६०० को आसपासमा बलियो खरिद चाप रहेको संकेत गर्छ । यदि आगामी दिनमा बजारले २६७३.१४ को पहिलो प्रतिरोध पार गर्न सकेमा नेप्से २७५४ र २८०० को उचायतर्फ अगाडि बढ्ने प्राविधिक सम्भावना देखिन्छ । यस्तो बलियो प्राविधिक अवस्थामा सरकारले लाभकर घटाउने निर्णय गरेपछि बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा छ ।