स्वरोजगार लघुवित्तले कमायो २० करोड २६ लाख नाफा
वि.सं.२०७९ साउन २२ आइतवार ११:२१
shares

काठमाडौ, २२ साउन । गत आर्थिक वर्षमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २० करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३१ दशमलव ३० प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले १५ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा ८६ दशमलव ३८ प्रतिशत बढेकाले खुद नाफा बढ्नमा सहयोग पुगेको हो । अघिल्लो आवमा रू। १३ करोड ८० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा २५ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो ।
२५ प्रतिशत बोनस शेयर वितरण गरी ५१ करोड ४० लाख ९९ हजार चुक्तापूँजी पुर्याएको कम्पनीको जगेडा कोष रकम ४७ दशमलव ७६ प्रतिशत बढी २९ करोड ६० लाखभन्दा बढी कायम भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे ४७ प्रतिशत बढी ३ अर्ब ५० करोडभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३२ प्रतिशत बढी ७ अर्ब ३५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
अघिल्लो आवमा २ दशमलव ६३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा २ दशमलव ३७ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३९ दशमलव ४१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ दशमलव ५८ रहेको छ ।



















