फन पार्कलाई २४ घण्टाभित्र कर तिर्न निर्देशन, अटेर गरे शिल गरिने
वि.सं.२०७९ भदौ १५ बुधवार १६:२१
shares

काठमाडौं, १५ भदौ । काठमाडौंको प्रर्दशनी मार्गमा रहेको फन पार्कलाई काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र कर तिर्नका लागि निर्देशन दिएको छ । फन पार्कले २४ घण्टाभित्र कर भुक्तानी गर्न महागनरपालिकाले पत्राचार गर्दै तोकिएको समयमा कर नतिरेको खण्डमा शिल गरिने चेतावनी दिएको हो ।
बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ– ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना सहित तिर्न जानकारी गराइन्छ ।’ फन पार्के ७ वर्ष देखि कर नतिरेको महानगरपालिकाले जनाएको छ ।
समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।




















