वर्षाले धानबाली नष्ट गरेपछि किसान मर्कामा
वि.सं.२०७९ असोज २५ मंगलवार १३:५९
shares

काठमाडौं, २५ असोज । बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले धान खेतीसँगै भित्र्याउने बेला भएको सिमी, बोडी र भट्टमासमासमेत क्षति पु¥याएको हो ।
गाउँपालिका–२ काखगेन्द्रबहादुर सुनारले भने,“लगातारको वर्षाले पसाउन थालेको धानबाली सबै सोत्तर परेर ढलेको छ, अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ, खेतभरी धानढलेको देख्दा मन भतभति पोल्छ, सिमी, बोडी र भट्टमास त्यसै कुहिएको छ ।”
धानको बीउसमेत नरहने गरी पानीले सोत्तर बनाइदिएको उनको भनाइ छ । सुनारले आफूले करिब १७ मुरी फल्ने खेतमा धान लगाएको भन्दै पानीका कारण १४ मुरी धान नष्ट भएको बताए । उनि भन्छन, “यसपाली धान निकै सप्रिएको थियो, अघिल्लो वर्षमा १७ मुरी धान भित्राउने गर्थे, यसपाली बढेर २० मुरी हुने अनुमान थियो ।”
अर्का स्थानीयवासी मीनबहादुर खत्रीले यसपाली बेमौसमी वर्षाले निकै ठूलो समस्यामा पारेको बताए । उनले वर्षाका कारण १० मुरी धान नोक्सान भएको बताउछन । “ बर्खाभरी दुःख गरेर धान लगाइयो, फल्ने बेला सबै ढल्यो” उनले भने “गाउँका धेरै किसानको धान ढलेको छ, यो वर्षा भोकमरी लाग्न सक्छ ।”



















