पशुपालनबाट मनग्य आम्दानी
वि.सं.२०७९ कात्तिक ३ बिहीवार ११:१७
shares

काठमाडौं, ३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन । रु ७० लाख लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहेका छन । कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उनले बताए ।
“सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो ।” उनले भने, “लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिक रुपमै पशुपालनमा लागे ।” सुरुआतामा रु चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उनले व्यवसाय विस्तार गर्दै अहिले रु ७० लाख लगानी गरेको उनले बताए ।
“बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैँसीपालनका लागि तयारी गर्दै छु ।” उनले भने, “यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।
” उनको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । बाख्रापालनमा राम्रो सम्भावना देखेका उनले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाए ।“अहिले प्रदेश सरकारबाट पनि मैले रु ४० लाख अनुदान पाएको छु ।” उनले भने, “अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।” अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उनले बताए ।



















