Dhulikhel Eco Banner new

अलैँची टिप्न व्यस्त किसानलाई उचित बजार मूल्यको चिन्ता

8.18K
shares

alकाठमाडौं, १४ कात्तिक । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।

अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । “यो वर्ष अलैँचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उनले भने, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।”

किसानहरुले २०७८ सालमा प्रतिकेजी रू १ हजार २ सयमा अलैँची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी रु छ सयमा अलैँची बिक्री गरेका थिए ।

गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् ।

गत वर्ष अलैँची बिक्री गरी रु २३ लाख आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ ।

बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताए ।