Dhulikhel Eco Banner new

सेतीमा पक्की पुल निर्माण गरिँदै

4.85K
shares

काठमाडौं, ९ कात्तिक । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ ।

लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ«े सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताए ।

उनले भने,“पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका जान समेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यही वर्षमा पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।”गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालको पहल र उनलेनै पुलको शिलान्यास गरेको गौतमले बताए ।

माछापुच्छ्रेका वडा नं २ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएपछि काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।

पुल आगामी विसं २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुबैतर्फ डेढ मिटर फुटपाथ सहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ ।