मौलिक देउसीभैलो जोगाउँदै पाल्पाका युवा
वि.सं.२०७९ कात्तिक ११ शुक्रवार ११:१२
shares

काठमाडौं, ११ कात्तिक । तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ । गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो । बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो ।
पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही समूहले प्रयास गरेका छन् । जिल्लाको लालुपाते नौमती मगर बाजा समूहले यस वर्षको तिहारमा नौमतीको तालमा मौलिक गीतहरू गाएर देउसीभैली खेल्यो ।
“पश्चिमा संस्कृतिले हाम्रो मौलिकतालाई मेटाउन लाग्यो”, लालुपाते नौमती मगर बाजा समूह तानसेन–७ पाल्पाका जनक थापा भन्छन, “नौमती बाजा बजाएर देउसीभैली खेलेका हौँ ।” नौवटा बाजाहरूको सामूहिक बाजा नौमती हो । यो पञ्चैबाजाको ठूलो रूप हो, पञ्चेबाजामा चारवटा अरू बाजाहरू थपिएको हुन्छ ।



















