GBIME

मौद्रिक नीतिको समीक्षा कर्मकाण्डी मात्रै : महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठ

1.46K
shares

काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मौद्रिक नीतिको पहिलो त्रैमासिकको समिक्षा कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा उपाध्यक्ष श्रेष्ठले पहिले भएकोमा केही मात्रामा ब्याजदर घटाएजस्तो गरेको भए पनि कर्मकाण्डका लागि मात्रै आएको बताएका हुन् ।

‘राष्ट्र बैंकले बैंकहरुलाई नै सजिलो हुने कुरा मौद्रिक नीतिको समीक्षामा बोलेको छ । व्यवसायीका समस्याका विषयमा कतै पनि बोलेको देखिदैन्,’ उनले भने । व्यवसायीहरुले बैंकले कर्जा र निक्षेपबीचको अन्तर ३ प्रतिशत कायम गर्नु पर्छ भन्ने माग गरिरहेको उनको भनाइ छ । तर मौद्रिक नीतिको समीक्षाले ४ र ४.६ प्रतिशत कायम गरेको अवस्था छ ।

यसका साथै चालु पुँजी कर्जाका विषयमा केन्द्रीय बैंकले केही पनि नबोलेको भन्दै उनले असन्तुष्टि जनाए । अहिले व्यवसायीलाई समस्यामा पारको भनेको चालु पुँजी कर्जाले हो । यसमा सुझाब माग्ने कामभन्दा केही पनि नभएको उनको भनाइ छ ।

‘सुरुमा ल्याएका विषय बाहेक केही पनि परिवर्तन भएको देखिएन् । कर्मकाण्डी रुपमा ६ वटा बुँदा सार्वजनिक गरेर समीक्षा सकियो,’ उनले भने ।