१० खर्ब कर निजी क्षेत्रले तिर्छ, तर खै निजीक्षेत्र मैत्री नीति : पूर्व उपाध्यक्ष श्रेष्ठ
वि.सं.२०७९ पुस १२ मंगलवार ११:५९
shares

जाजरकोट, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले निजी क्षेत्र अझै पनि राज्यबाट उपेक्षामा परेको बताएका छन् ।
जाजरकोट उद्योग वाणिज्य संघले खलंगामा आयोजना गरेको महोत्सवको उद्घाटन शत्रमा बोल्दै पूर्व उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मर्म राज्यले बुझ्न नसकेको बताएका हुन् ।
१६ खर्बको बजेटमा साढे १० खर्ब हाराहारी त निजी क्षेत्र बाटै राजश्व प्राप्त हुन्छ उनले भने, तर खै त निजी क्षेत्र मैत्री कानून, यो विषयमा सोच्नु पर्दैन । निजी क्षेत्रका नेतृत्व गर्नेहरु पनि व्यक्तिको व्यापार बढाउन मात्रै लागेको उनले बताए ।
व्यक्तिगत स्वार्थ त्यागेर समग्र व्यवसायीको हित सोच्नुपर्ने उनको भनाइ छ । उनले भर्खरै नयाँ सरकार बनेको भन्दै अर्थतन्त्र वलियो बनाउन निजी क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । नयाँ सरकारबाट केही अपेक्षा रहेको उनले बताए ।
हिजो अर्थमन्त्री र गभर्नर फरक पार्टीको हुँदा राष्ट्र बैंक र सरकारले तादम्यता मिलेको थिएन् उनले भने, मलाई आशा छ, अब दुई निकायको विवाद नहोस् । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल समेत उपस्थित थिए ।
उनले निजी क्षेत्र आन्तरिक र बाह्य दुबै क्षेत्रबाट अप्ठ्यारो अवस्थामा पुगेको बताए । उनले निजी क्षेत्रलाई सहज किसिमले व्यापार व्यवसाय गर्ने वातावरण बनाउनु पर्ने बताए ।



















