नयाँ सरकारसंगै १६१ अंकले बढ्यो नेप्से परिसुचक, अर्को साता के होला ?
वि.सं.२०७९ पुस १६ शनिवार १०:३३
shares

काठमाडौं, १६ पुस । यस साता नेप्से परिसूचक १६१ अंकले बढेको छ । नयाँ सरकार वा नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उत्साह छाएको छ । यस साता नेप्से परिसुचक ८ दशमलव ३७ प्रतिशतले बढेर २०२९ दशमलव शुन्य तीनको विन्दुमा पुगेको हो ।
लामो समयदेखि १८ सयको हाराहारीमा रहेको शेयर बजार यो साता भने २ हजारमाथि पुगेको हो । यो साता जम्म ४ दिन मात्र शेयर कारोबार भएको थिाये त्यसमा एक दिन नेप्से घटेको थियो भने अरु तीन दिन बढेको थियो ।
यस साताको बुधबार नेप्सेमा करिब १२ अंकको करेक्सन भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ६.६० प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ८.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.०९ प्रतिशत बढेको छ ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९९ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ७५ करोडको शेयर खरिदबिक्री भएको छ ।
गत साताको दैनिक औषत कारोबार रकमको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १७७.२३ प्रतिशत बढेको हो । यस साता दैनिक औषत कारोबार संख्या ८८.६८ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या १६७.७१ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २७ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब ३४ अर्ब रुपैयाँ बढेर २९ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।



















