GBIME

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा ५५ प्रतिशतले घट्यो

888
shares

काठमाडौं, ८ माघ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमासको भन्दा यस वर्ष कम्पनीको खुद नाफा ५५ दशमलव १२ प्रतिशत घटेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ४ करोड ६२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा घटेको छ । गत वर्ष ६ करोड ६० लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २ करोड ९६ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।

कम्पनीको इम्पेरमेन्ट चार्ज गत वर्षभन्दा यस वर्ष बढेकाले सञ्चालन नाफासँगै खुद नाफामा असर देखिएको हो । गत वर्ष ८४ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ३ करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३१ लाख ६२ हजार रूपैयाँभन्दा बढी रहेको छ । २ दशमलव ४० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी ९८ करोड १६ लाख ८३ हजार रूपैयाँ कायम भएको छ ।

कम्पनीको रिटेन्ड अर्निग भने गत असार मसान्तसम्मको तुलनामा ९५ दशमलव ७६ प्रतिशत कम भएको छ । गत असार मसान्तसम्म ७ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको रिटेन्ड अर्निग दोस्रो त्रैमाससम्म ३१ लाख ६२ हजार रूपैयाँ कायम भएको छ ।

कम्पनीको जगेडा कोष रकम भने करीब २ प्रतिशत बढेर ३० करोड ६३ लाख रूपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले ६ महीनामा ६ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५ अर्ब १६ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा भने गत वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष बढेको छ । गत वर्ष शून्य दशमलव ८५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव ३६ प्रतिशत पुगेको हो ।