Dhulikhel Eco Banner new

ब्याजदर एकल विन्दुमा ल्याउने विषयमा सरकारले काम गरिरहेको छ : पूर्व मन्त्री श्रेष्ठ

5.75K
shares

काठमाडौं, ६ फागुन । नेकपा एमालेका नेता तथा पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले देशको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । शनिबार भोटेबहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले देशको अर्थतन्त्र समस्या रहेको बताएका हुन् ।

देशलाई स्थिरता चाहिएको समयमा राजनीतिमा भने दाउपेच गर्ने काम भइरहेको भन्दै व्यवसायीहरुबाट राजनीति गर्नेहरुले सिक्नु पर्ने उनको भनाइ थियो । ‘अहिले सामाजिक सञ्जालदेखि रेडियो टेलिभिजनहरुमा राष्ट्रपतिको विषयमा मात्रै चर्चा भएको छ । यो विषयले गर्दा सरकारले अरु क्षेत्रमा ध्यान दिन सकेन,’ उनले भने, ‘राष्ट्रपतिको चुनाव सकिएपछि सरकारले अरु क्षेत्रमा ध्यान दिन्छ ।’

देशका विभिन्न स्थानबाट आएर भोटेबहाल क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले गर्दा नै यो क्षेत्रको महत्व बढेको भन्दै घरबेटी र बहालवाल बीचको सम्बन्ध नङ र मासुको हुने उनको भनाइ थियो । जुन ठाउँबाट आएको भए पनि सबै नेपाली भएको भन्दै यो क्षेत्रमा व्यवसाय गर्नेहरुका समस्या समाधानका लागि आफूले निरन्तर पहल गर्ने उनको आश्वासन थियो ।

अहिले बढेको बैंकको ब्याजदर एकल विन्दुमा ल्याउने विषयमा अहिलेको सरकारले पहल गरिरहेको पनि उनले बताए । केही समय लागेपनि व्यवसायीको माग समाधान गर्नका लागि यो सरकार तयार रहेको उनको भनाइ थियो । दाउपेचको राजनीतिले देश अस्थिरर्तातर्फ धकेलिएको भन्दै देशलाई स्थिरता दिनका लागि यो सरकार लागिरहेको उनले दाबी गरे ।

उनले देशको राष्ट्रपतिलाई खुइल्याउने काम भएको भन्दै यसले देश नबन्ने धारणा पनि व्यक्त गरे । ‘देशमा दाउपेचको कुरा मात्रै भइरहेको छ । राष्ट्रपतिलाई देशको गौरवका रुपमा हेरिनु पर्ने भए पनि खुइल्याउने काम मात्रै भइरहेको छ । यस्ता कार्यले देश बन्दैन,’ उनले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक रुपमा बोल्नेभन्दा पनि सम्बन्धित निकायमा गएर समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने बताए । नेपालमा व्यवसायका लागि उपयुक्त वातावरण भएको भन्दै व्यवसायीका समस्याहरु समाधानका लागि आफूले निरन्तर पहल गर्ने उनको भनाइ थियो । ‘काठमाडौं सबैको सपनाको सहर हो । जसले नेपालको अर्थतन्त्रलाई नै नेतृत्व गर्छ,’ उनले भने । सार्वजनिक पदमा रहदा वा नरहदा पनि आफू निरन्तर रुपमा व्यवसायीका समस्या समाधानका लागि लागिरहेको उनको भनाइ थियो ।

त्यस्तै राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले व्यवसायीहरु आन्दोलनमा रहेको अवस्थामा राज्यले ध्यान दिन नसकेको आरोप लगाए । ‘लामो समयदेखि व्यवसायी आन्दोलनमा रहेका छन् । केहीले आत्महत्यासम्म गर्नु पर्ने अवस्था सिर्जना हुँदा पनि राज्यले खासै ध्यान दिएको छैन,’ उनले भने ।

बैंकले व्यवसायीलाई कुनै पनि जानकारी नै नदिएर ब्याजदर बढाएको भन्दै बैंकहरु पुराना सामन्तिको रुपमा अघि बढेको उनको आरोप थियो । ‘सरकार नागरिकलाई सुकुम्बासी नबनाउने भन्छ । बैंकहरु पत्रिकामा नाम निकालेर सम्पति लिलाम गरेर सुकुम्बासी बनाउने काम गरिरहेका छन्,’ उनलेभ ने ।

सरकार चक्लेटको कर घटाएर कपडामा कर बढाएको भन्दै सरकारका लागि आवश्यक कपडाभन्दा पनि चक्लेट रहेछ,’ अध्यक्ष कार्कीले भने । देशको अर्थतन्त्र बैंकहरुले चलाएको भन्दै व्यवसायीहरु बाध्यताले आन्दोलन गर्नु परेको उनको भनाइ छ । त्यस्तै नेपाल व्यापार संघका अध्यक्ष हरि बहादुर गौतमले व्यवसायीहरु मारमा रहेको भन्दै राज्यले ध्यान दिन नसकेको गुनासो गरे ।

‘व्यवसायीहरुले आत्महत्या गर्दा पनि राज्यले कुनै ध्यान दिन सकेको देखिएन । यो भन्दा दुखको कुरा के हुन्छ र ?’ उनले भने । त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चुडामणी बज्राचार्यले आफूहरु यो क्षेत्रका व्यवसायीका समस्या समाधानका लागि निरन्तर रुपमा पहल गर्ने धारणा व्यक्त गरे ।