बुबाको पहिचान नभए मावली थरमा जन्मदर्ता गर्ने परिपत्रमा सांसदहरूको आपत्ति
वि.सं.२०७९ चैत २४ शुक्रवार १८:०९
shares

काठमाडौं, २४ चैत। प्रतिनिधिसभाका सांसदहरुले, एकल महिलाबाट जन्मेको बच्चाले मावलीको भन्दा आमाको थरबाट जन्मदर्ता गर्ने तथा नागरिकता पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोलेका कतिपय सांसदहरुले हालै सरकारले जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई बाबुको ठेगान नभएमा मावलीको थर राखी जन्मदर्ता गर्न दिने व्यवस्थाप्रति असहमति जनाएका हुन् ।
एकल महिलाबाट जन्मिएको बच्चाले आमाकै थरबाट जन्मदर्ता गर्न पाउनुपर्ने व्यवस्था गर्न उनीहरूको माग छ । संसद्को शून्य समयमा बोलेका सांसद विद्या भट्टराई, सुशीला श्रेष्ठ, सुशीला थिङ लगायतले सरकारले गरेको एकल महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्ने विषयलाई लिएर चर्को असन्तुष्टि पोखे । एमाले सांसद विद्या भट्टराईले उक्त प्रावधान नेपालको संविधान विपरीत रहेको बताइन्।
उनले भनिन् ‘संवैधानिक र कानूनी व्यवस्थालाई ख्याल नगरी जारी गरिएको परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ । परिपत्रले संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ ।’
उनले संविधान र देवानी संहिताको भाषा प्रयोग गरी पुन परिपत्र जारी गर्न सरकारसँग माग गरिन ।
अर्का सांसद सुशीला श्रेष्ठ र सुशीला थिङले पनि एकल महिलाबाट जन्मिएका बच्चाको थर मावलीको थरबाट राख्ने प्रावधानप्रति असहमति जनाउदै जारी परिपत्रमा आमाको थर कायम राख्नुपर्ने माग गरेका छन् ।



















